काठमाडौँ ।
भारत सरकारको सहयोगमा ओखलढुङ्गा र गुल्मीमा दुई वटा विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रूपमा गरेका हुन्। भारतीय दूतावासका अनुसार विद्यालय भवन भारत सरकारको चार करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुनेछ। तीन र आधा तल्लाको हुने उक्त भवनलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत अघि बढाइएको छ र सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
कार्यक्रममा नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरे।
यस्तै, भारत सरकारकै सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ स्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको पनि मङ्गलबार शिलान्यास गरिएको छ। शिलान्यास काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रूपमा गरे।
भारतीय दूतावासका अनुसार निन्युखर्क माध्यमिक विद्यालयको भवन भारत सरकारको तीन करोड ८० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुनेछ। फर्निचर, कक्षाकोठा तथा अन्य सहयोगी संरचनासहितको दुई तल्ले भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरेका छन्।