चितवन
नेपाल एपीएफ क्लबले इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । यता, त्रिभुवन आर्मी क्लबले मुख्य खेलाडीविनै मैदान उत्रिँदै घरेलु टोली चितवन क्रिकेट क्लबलाई १३ रनले हराउँदै संघर्षपूर्ण जित हात पारेको छ ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंगलबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल बनायो । कप्तान सुमित महर्जनले ५८ रन बनाउँदा दीपक बोहराले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दिनेश अधिकारीले ८ बलमा अविजित ३७ तथा अमरसिंह राउटेलाले ७ बलमा अविजित २० रन जोडे । पुलिसका श्रवण यादवले ३ र सुजन थपलियाले १ विकेट लिए ।
जवाफमा नेपाल पुलिस क्लब १३.२ ओभरमै १ सय ५ रनमा अलआउट भयो । पुलिसका दीपेन्द्र रावतले ३५ र अर्जुन घर्तीले २२ रन बनाए । एपीएफका अभिशेष गौतमले १८ रन खर्चिंदै ४ विकेट लिए भने दिवान पुनले ३, भुवन कार्कीले २ र सलाउद्दिन खानले १ विकेट लिए ।
पहिलो खेलमा नियमित कप्तानसहित चार मुख्य खेलाडीविनै मैदान उत्रिएको त्रिभुवन आर्मी क्लबले चितवन क्रिकेट क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । कप्तान विनोद भण्डारी, भीम सार्की, शाहब आलम र बसिर अहमद टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेपछि आर्मी जितेन्द्रसिंह ठकुरीको कप्तानीमा खेलेको थियो ।
विकेटकिपर ब्याटर अर्जुन साउदको ९३ रनको उत्कृष्ट इनिङ्समा आर्मीले ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । प्लेयर अफ द म्याच अर्जुनले ५४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे । इमरान शेखले २७ र सन्तोष यादवले २१ रन बनाए । चितवनका गौतम केसीले ३ तथा दिपेश श्रेष्ठ र नरेश प्रधानले १–१ विकेट लिए ।
जवाफमा चितवन १ सय ६२ रनमा अलआउट भयो । प्रतीक श्रेष्ठले ४० बलमा ६२ रनको विष्फोटक इनिङ्स खेल्दै अन्तिमसम्म आर्मीलाई दबाबमा राखे । रिजन काफ्लेले २३, विपिन खत्रीले २२ र गौतम केसीले ११ रन बनाए । आर्मीका आकाश चन्दले ४, दुर्गेश गुप्ताले ३, अपराजित पौडेलले २ र नरेन साउदले १ विकेट लिए ।
बुधबार हुने खेलमा त्रिभुवन आर्मी क्लब र तलतला इन्स्टिच्युट कोलकाताबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन क्रिकेट क्लबले भारतको दिल्ली वन्डर्ससँग खेल्नेछ ।