काठमाडौँ
जनवरी दोस्रो सातादेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल वरीयताका आधारमा कमजोर टोली मानिए पनि नवनियुक्त विदेशी प्रशिक्षक हर्शल पाठकले नेपालको सम्भावनाप्रति आशावादी दृष्टिकोण राखेका छन्।
पहिलो पटक महिला ट्वान्टी–२० विश्वकप छनोटमा सहभागिता जनाउन लागेको नेपाल १० टोलीमध्ये नवौं वरीयतामा छ। तर, नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक पाठकले घरेलु मैदानको फाइदा र खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमताका कारण नेपालले विश्वकपमा छनोट हुने वास्तविक सम्भावना रहेको बताए।
भारतीय प्रशिक्षक पाठक नेपाली महिला क्रिकेट टोलीका पहिलो पूर्णकालीन विदेशी प्रशिक्षक हुन्। यसअघि उनले थाइल्यान्डलाई सन् २०२० को महिला ट्वान्टी–२० विश्वकपसम्म पुर्याएका थिए भने सन् २०२२ मा पाकिस्तानलाई हराउँदै एसिया कपको सेमिफाइनलसम्म पुर्याएका थिए।
‘नेपाली खेलाडीहरूको खेलप्रतिको लगावले मलाई यहाँ आउन प्रेरित गर्यो,’ पाठकले भने, ‘घरेलु समर्थन र प्रतिद्वन्द्वीसँगको अनुभव नेपालका लागि महत्वपूर्ण पक्ष हुन्।’
नेपाल आयोजक रहेको यो छनोट प्रतियोगिता जनवरी १४ देखि फेब्रुअरी ३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा सञ्चालन हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बावे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार पाठकसँग दुई वर्षको सम्झौता गरिएको छ। ‘उहाँलाई केवल विश्वकप छनोटका लागि होइन, समग्र महिला क्रिकेटको पुनर्निर्माण र दीर्घकालीन विकासको जिम्मेवारी दिइएको हो,’ दासले भने।
पाठकले उमेर समूहदेखि नै महिला क्रिकेटमा लगानी बढाउने योजना रहेको उल्लेख गर्दै सही क्रिकेट संस्कार र प्राविधिक ज्ञान विकासमा जोड दिने बताए। ‘नेपाली महिला क्रिकेटमा ठूलो सम्भावना देखेरै म यहाँ आएको हुँ,’ उनले भने।