जनकपुरधाम, ९ पुस
पछिल्ला दिनहरूमा शीतलहर तीव्र बन्दा मधेशका दलित तथा विपन्न बस्तीको जनजीवन कष्टकर बनेको छ। ओढ्ने–ओछ्याउने र न्यानो कपडाको अभावमा वृद्धदेखि बालबालिकासम्म जाडोले कठ्याङ्ग्रिन थालेका छन्। जाडो छल्न धेरै परिवार घुर बालेर ताप्ने र परालको सहारा लिन बाध्य छन्।
धनुषा हंसपुर नगरपालिका–२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा रातभर निदाउन सक्दैनन्। पातलो चादर ओढेर परालमा सुत्दा जाडो नथेगिएपछि उनी राति–राति घुर ताप्छन्। “भरपेट खानै मुस्किल छ, ओढ्ने–ओछ्याउने कहाँबाट ल्याउने?” उनले दुखेसो पोखे। उनकी श्रीमती सनेचरी देवीको अवस्था पनि उस्तै छ। ऐलानी जग्गामा बनेको १५ वर्ष पुरानो खर–परालको घर जीर्ण भई ढल्ने अवस्थामा पुगेको छ।
त्यही बस्तीका केही मुसहर परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर बने पनि सदा दम्पतीसहित धेरै परिवार अझै घुर र परालमै निर्भर छन्। उनका कान्छा छोरा रामशरणको परिवारका छ जना सदस्य पनि फुसकै घरमा एउटा कम्बल र परालको सहारामा रात काटिरहेका छन्।
छिमेकी ६५ वर्षीया केसोदेवी सदा दिउँसोसमेत अँगेनामा घुर ताप्दै बस्छिन्। सात जनाको परिवार पराल र एउटै कम्बलमा निर्भर छ। “धेरै जाडो भए परालै ओढ्छौं, नभए घुर तापेर जाडो भगाउँछौं,” उनले भनिन्।
राजकिशोर सदाको टाउकोमाथि ओतका लागि च्यातिएको प्लास्टिक मात्र छ। तीनतिर च्यातिएका कपडाले घेरिएको ठाउँमा पराल ओछ्याएर पातलो कम्बल ओढी उनी सुत्छन्। “घरभित्र भतिज–बुहारी, बाहिर हामी,” उनकी छोरी भुली सदाले भनिन्।
स्थानीय ६५ वर्षीया दुःखनी सदा पनि आफन्तले दिएको एउटै कम्बलमा परिवारको जाडो कटाइरहेकी छन्। “न्यानो लुगा छैन, धेरै जाडो भयो भने घुर ताप्छु,” उनले भनिन्।
यी उदाहरण मात्र हुन्। तीन दिनयता मधेशभर शीतलहर बढ्दा यस्ता बस्तीहरूमा ओढ्ने, ओछ्याउने र न्यानो कपडाको अभाव झनै चर्किएको छ। कतिपय बालबालिकाका खुट्टामा चप्पलसमेत छैन। जाडोका कारण जनजीवन प्रभावित भएपछि तराई–मधेशका कैयौँ स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्।
हंसपुर नगरपालिकाका मेयर प्रदीप यादवले भने आफ्नो पालिकामा व्यापक अभाव नरहेको दाबी गरे। “केही घरपरिवारमा मात्रै समस्या छ। जाडो छल्न दाउरा वितरणको तयारी गर्दैछौं। कम्बल खरिदबारे बैठकले निर्णय गर्छ,” उनले बताए।
यद्यपि, विपन्न बस्तीहरूमा तत्काल राहत र दीर्घकालीन व्यवस्थापनको आवश्यकता रहेको स्थानीयहरूको माग छ।