काठमाडौं
प्रतिनिधिसभा निर्वाचनका लागि ७२ दिन मात्रै बाँकी रहँदा चुनावी तयारीमा जुट्नुपर्ने राजनीतिक दलहरू नै निर्धारित मितिमा निर्वाचन नहुने आशङ्का व्यक्त गर्न थालेका छन्। विशेष गरी विघटित प्रतिनिधिसभाका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सरकारसँगको संवादका क्रममा यसै साता आफ्नो चिन्ता सार्वजनिक गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस पार्टी कार्यालयको अनुगमनमा आएका सरकारका दुई मन्त्री र प्रधानमन्त्रीका एक सल्लाहकारसँगको भेटमा कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचनप्रति आशङ्का व्यक्त गरेका थिए। सो कुरा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बीबीसी न्यूज नेपालीलाई बताइन्।
उनका अनुसार, “प्रधानमन्त्री स्वयंले ‘मेरो जेठो छोरा’ भनेर सम्बोधन गर्ने व्यक्तिले ‘हामीले चुनाव गर्न दिँदैनौँ’ भन्ने भाषा प्रयोग गरिरहेकाले दल र मतदाता दुवै सशङ्कित बनेका छन्। यसले निर्वाचन नहोला कि भन्ने आशङ्का बढाएको छ।”
कांग्रेस उपसभापतिले नाम नलिई प्रधानमन्त्रीका ‘छोरा’ भन्दै जेन–जी आन्दोलनपछि उदाएका युवा अगुवा सुधन गुरुङलाई लक्षित गरेको बुझिन्छ। प्रधानमन्त्री सुशीला कार्कीले जेन–जीका प्रतिनिधिसँगको सम्झौताका क्रममा गुरुङलाई आफ्नो ‘जेठो छोरा’ सरह भन्दै प्रशंसा गरेकी थिइन्। तर फागुन २१ गते चुनाव नहुने आशयको गुरुङको अभिव्यक्तिपछि प्रमुख दलहरूले प्रश्न उठाउँदै आएका छन्।
यसअघि सोमबार प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय छलफलमा नेकपा एमालेका सचिव महेश बस्नेतले पनि आफ्नो दलले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको स्मरण गराउँदै भने, “फागुन २१ गते चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो।”
उता, विघटित प्रतिनिधिसभाका तेस्रो र छैटौँ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका कतिपय नेताहरूले पनि तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन्।
दलहरूका अनुसार चुनावप्रति आशङ्का बढ्नुका मुख्य कारणमा सरकार–आन्दोलनबीचको अस्थिर सहमति, प्रभावशाली व्यक्तिहरूबाट आएका विरोधाभासी अभिव्यक्ति, निर्वाचनसम्बन्धी तयारीको अस्पष्टता, कानुनी चुनौतीहरू र सुरक्षा अवस्थाप्रति देखिएको अनिश्चितता रहेका छन्। यी कारणले निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न अझ गहिरिँदै गएको छ।