म्याग्दी ।
मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँत प्रयोग गरेर जैविक विषादी उत्पादन गर्दै खेतीबालीमा रोगकीरा नियन्त्रण गरिरहेका छन्। रासायनिक मल र विषादीको विकल्पका रूपमा जैविक विधि अपनाउँदै शर्माले १६ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरिरहेका हुन्।
शर्माले गाईभैँसीको गहुँत भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोका पात मिसाएर जैविक विषादी तयार गर्ने गरेका छन्। उक्त विषादी सुन्तला र तरकारी बालीमा छर्कँदा रोगकीरा नियन्त्रण हुनुका साथै मलको कामसमेत गर्ने उहाँको अनुभव छ।
“रासायनिक मल र विषादीको विकल्पका रूपमा फार्ममै जैविक मल र विषादी उत्पादन गरिरहेको छु,” शर्माले भन्नुभयो, “यसका लागि एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु। जैविक विषादीले दिगो कृषि, स्वस्थ उपज र पर्यावरण सन्तुलन कायम गर्न सहयोग पुगेको छ।”
जैविक विषादीलाई पानीको मात्रा मिलाएर प्रयोग गर्दा बालीमा रोगकीरा नष्ट हुनुका साथै उत्पादनमा सुधार आएको उहाँले बताउनुभयो। पर्यावरण संरक्षणका लागि व्यावसायिक रूपमा खाद्यबाली, फलफूल र तरकारीखेती गर्ने किसानले एकीकृत कृषि प्रणाली अपनाउनुपर्ने उहाँको सुझाव छ।
रोजगारीका लागि सन् २००२ मा युएई गएका शर्मा १० वर्षपछि सन् २०१२ मा स्वदेश फर्किएर ‘बिसम कृषि तथा पशुपालन फार्म’ स्थापना गर्नुभएको हो। विदेश जानुअघि रोपेका १५० वटा सुन्तलाका बोटको स्याहारसुसार गर्दै उत्पादनयोग्य बनाउनुका साथै बाँझो पाखोबारीमा थप ३०० नयाँ बिरुवा रोप्नुभएको उहाँले जानकारी दिनुभयो। यस वर्ष प्रतिकिलो ७० रुपैयाँका दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाटै बिक्री गर्नुभएको छ।
“विदेशमा गर्ने मेहनत आफ्नै खेतबारीमा गर्न सके परिवारसँगै बसेर आयआर्जन गर्न सकिन्छ,” शर्माले भन्नुभयो, “सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि विदेश जाने सोच त्यागेको छु।”
शर्माको योगदानलाई कदर गर्दै श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरेका व्यक्तिका रूपमा पुरस्कृत गरेको थियो। यसैगरी कृषि विकास कार्यालयले गत असार र मालिका गाउँपालिकाले गत फागुनमा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको छ।
सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरीसमेत सञ्चालन गरिरहेका शर्माले गत वर्ष ८० हजार रुपैयाँ बराबरका सुन्तलाका बिजु बिरुवा बिक्री गर्नुभएको थियो। यस वर्ष आठ हजार नयाँ बिरुवा तयार गरिएको उहाँले बताउनुभयो।
बगैँचासम्म सडक सुविधा पुगेकाले बजारीकरण सहज भएको छ भने नजिकै पानीको स्रोत भएकाले सिँचाइमा पनि समस्या छैन। शर्मासँगै छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानले परम्परागत गहुँ, मकै, धान र कोदोखेती छाडेर व्यावसायिक सुन्तलाखेती अपनाउन थालेका छन्।