काठमाडौं
यौनदुराचारी जेफ्री एप्स्टिनसँग अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा आठपटक सँगै विमान यात्रा गरेको दाबी गरिएको छ।
अमेरिकी न्याय विभाग (डीओजे)को वेबसाइटमा सार्वजनिक भएका ताजा दस्तावेजहरूमा ट्रम्पले सन् १९९३ देखि १९९६ सम्म एप्स्टिनको निजी जेटबाट भर्जिन आइल्यान्डको उनको निजी टापुमा यात्रा गरेको उल्लेख गरिएको छ। यी यात्राहरूको खुलासापछि अमेरिकी राजनीतिक र सञ्चारमाध्यमहरूमा चर्चा व्यापक भएको छ।
एप्स्टिनमाथि उनको टापुमा नाबालिक युवतीहरूलाई तस्करी गरी उच्च बर्गका व्यक्तिहरूसँग यौनजन्य गतिविधि गराउने आरोप लागेको थियो। दस्तावेजअनुसार, यो जानकारी २०२० जनवरी ७ मा पठाइएको एक आन्तरिक इमेलमा उल्लेख गरिएको छ, जसमा ट्रम्पको यात्राका विवरण पहिले सार्वजनिकभन्दा बढी रहेको देखिएको छ।
इमेल ‘रेम एपस्टिन फ्लाइट रेकर्डस’ शीर्षकमा पठाइएको थियो। यद्यपि इमेल पठाउने र प्राप्त गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ, तर दक्षिणी न्युयोर्क जिल्लाका एक सहायक अमेरिकी अभियोजकको हस्ताक्षर यसमा छ।
इमेल अनुसार, ट्रम्प कम्तीमा आठ उडानको यात्री सूचीमा थिए। तीमध्ये चार उडानमा घिस्लाइन म्याक्सवेल पनि सँगै थिइन्, जो नाबालिक युवतीहरूको तस्करीको आरोपमा जेल भोगिसकेकी छन्। केही यात्रामा ट्रम्पसँग उनकी तत्कालीन पत्नी मार्ला म्यापल्स, छोरी टिफनी र छोरा एरिक ट्रम्प पनि थिए।
डीओजेले भनेको छ कि यी उडानहरूको नाममा उल्लेख हुनु कुनै अपराधको प्रमाण होइन। अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले पनि सन् २००४ तिर एप्स्टिनसँगको सम्बन्ध तोडिएको र कुनै गलत काममा उनको भूमिका नभएको निरन्तर दाबी गर्दै आएका छन्।
यी दस्तावेज करिब आठ हजार फाइलहरूको हिस्सा हुन्, जुन एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी ऐनअन्तर्गत सार्वजनिक गरिएको हो। यसमा सयौं अडियो–भिडियो रेकर्डिङ र २०१९ अगस्टको निगरानी फुटेज पनि समावेश छन्। एप्स्टिन जेलमा मृत फेला परेका थिए भने उनको सहयोगी घिस्लाइन म्याक्सवेललाई सन् २०२२ मा नाबालिकहरूको तस्करी र यौन शोषणका आरोपमा २० वर्षको सजाय सुनाइएको थियो।
यी नयाँ दस्तावेजहरूले अमेरिकामा पुराना मुद्दाहरू र राजनीतिक आरोप–प्रत्यारोपहरूमा पुनः बहस सुरु गराएको छ।