पर्सा र बारा लगायतका तराइ क्षेत्रमा चिसो तीव्र बढ्दै गएपछि दैनिक जीवन अस्तव्यस्त बन्दै गएको छ। बढ्दो शीतलहरका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू उच्च जोखिममा परेका छन्। चिकित्सकहरूले संवेदनशील समूहलाई सकेसम्म न्यानो स्थानमा बस्न, तातोपानी पिउन र चिसोबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
तर चिकित्सकीय सुझावअनुसार सावधानी अपनाउनुपर्ने अवस्थामा पनि स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो बढ्दै गएको छ। न्यानो व्यवस्थाको अभावमा धेरैजसो वृद्धवृद्धा खुला ठाउँमा ‘घुर’ तापेर दिनरात काट्न बाध्य छन्। दलित तथा आर्थिक रूपमा कमजोर परिवारमा त कम्बल र न्यानो कपडाको समेत अभाव भएकाले पराल र घुस्यान बालेर आगो ताप्नुपरेको स्थानीयहरूको भनाइ छ।
नागरिकलाई चिसोबाट जोगाउन हरेक वर्ष पालिका तथा वडा कार्यालयले बजेट विनियोजन गर्ने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको स्थानीयको आरोप छ। धोबिनी गाउँपालिकामा तीन वर्ष बितिसक्दा पनि उल्लेखनीय सुधार नदेखिएको भन्दै एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “बजेट र योजना भएको सुनिन्छ, तर सुविधा आफ्नै मान्छेकै लागि सीमित देखिन्छ।”
वन उपभोक्ता समितिका पदाधिकारीहरूले काठ–दाउरा आफ्नै प्रयोजनका लागि प्रयोग गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। शीतलहर बढ्दा चोक–चौराहामा आगो बाल्ने व्यवस्था, गरिब तथा वृद्धवृद्धालाई कम्बल र दाउरा वितरण जस्ता न्यूनतम राहत कार्यक्रम समेत प्रभावकारी रूपमा सञ्चालन नभएको उनीहरूको गुनासो छ।
स्थानीयवासीहरूका अनुसार चुनावको बेला मात्र जनप्रतिनिधि घरदैलोमा पुग्ने तर जाडोको कठ्याङ्ग्रिदो समयमा गरिब र असहायको पीडाप्रति चासो नदेखाउने प्रवृत्ति दोहोरिँदै आएको छ। तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
यसैबीच शीतलहरका कारण बारा, पर्सा सहित मध्यतराईका जिल्लामा जनजीवन प्रभावित भएपछि धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। वीरगन्ज महानगरपालिकासहितका पालिकाले सूचना जारी गर्दै विद्यालयमा जाडो बिदा दिएका छन्। बाक्लो हुस्सुसँगै जारी शीतलहरका कारण बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्यालामजदुरी गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्। पुस १ गतेदेखि सुरु भएको शीतलहर अझै नघट्दा दैनिक कामकाज समेत प्रभावित बनेको छ।