धरमपुर, पुस ९ ।
डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गर्दै आएको बिमा तथा राहत कार्यक्रम सदस्यहरूका लागि प्रभावकारी सामाजिक सुरक्षा संयन्त्रका रूपमा स्थापित हुँदै गएको छ।
सहकारीका कुल सदस्य मध्ये करिब ६६ प्रतिशत सदस्य उक्त कार्यक्रममा सहभागी भइसकेका छन्, जसले सहकारीप्रति सदस्यहरूको विश्वास र कार्यक्रमको उपयोगितालाई पुष्टि गरेको छ। सहकारी अन्तर्गतको धरमपुर सेवा केन्द्रले बुधबार आफ्ना दिवङ्गत सदस्यको घरमै पुगेर बिमा तथा राहत रकम हस्तान्तरण गर्दै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
शिवसताक्षी नगरपालिका–१ निवासी तथा डाँफे सहकारी धरमपुर सेवा केन्द्रकी सदस्य ५८ वर्षीया सुमित्रा रिजालको क्यान्सर रोगका कारण निधन भएपछि सहकारीले उनको परिवारलाई रु ७५ हजार बिमा तथा राहत रकम प्रदान गरेको हो। धरमपुर सेवा केन्द्रका प्रमुख योगेस अधिकारीका अनुसार उक्त रकम सहकारीले सञ्चालन गर्दै आएको बिमा तथा राहत कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो। सदस्यको दुःखको घडीमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र मृतकको घरमै पुगेर रकम हस्तान्तरण गरिएको उनले बताए।
रकम वितरण कार्यक्रममा सहकारीका अध्यक्ष तुलराम न्यौपाने, उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, सचिव लिलानाथ खनाल, कोषाध्यक्ष निर्मला गजुरेल, धरमपुर सेवा केन्द्र उपसमिति सदस्य नरबहादुर भुजेललगायत विभिन्न उपसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहकारी नेतृत्वले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाले सधैं सदस्यहरूको साथमा रहने प्रतिबद्धता जनाएको थियो।
सहकारीका अध्यक्ष तुलराम न्यौपानेले सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको जीवन सुरक्षामा टेवा पुर्याउने सामाजिक संस्था भएको बताए। उनले सदस्यको दुःखको घडीमा साथ दिनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
सहकारीका अनुसार बिमा कार्यक्रममा सहभागी हुन सदस्यले न्यूनतम १०० कित्ता भन्दा बढी शेयर खरिद गरी वार्षिक रु ५०० अनिवार्य बचत गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मृतक सुमित्रा रिजाल बिमा कार्यक्रममा सहभागी सदस्य रहेकी थिइन्। उनको निधन पश्चात परिवारले राहत रकम प्राप्त गरेको सहकारीले जनाएको छ। हाल सहकारीमा ८ हजार ३ सय सदस्य आबद्ध रहेका छन्। तीमध्ये ५ हजार ५ सय सदस्य बिमा कार्यक्रममा सहभागी छन्।
सहकारीले बिमा कार्यक्रममा सहभागी सदस्यको मृत्यु भएमा रु २० हजारदेखि रु १ लाखसम्म बिमा रकम भुक्तानी गर्दै आएको अध्यक्ष न्यौपानेले जानकारी दिए। मृतक रिजालको परिवारले सहकारीबाट प्राप्त राहतले दुःखको घडीमा केही आर्थिक राहत महसुस भएको प्रतिक्रिया दिएको छ।
सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यहरूको जीवन सुरक्षामा निरन्तर सहयोग पुर्याउँदै आएको जनाएको छ।