काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्यक्तित्वहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।
ललितपुरको कुपन्डोलस्थित व्यञ्जनकार कुमार बेनको निवासमा आयोजित छलफलमा मेयर बालेनले प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित पात्रहरूसँग भेट गरेका हुन् । मेयर बालेनको सचिवालयका अनुसार उक्त भेटघाट नयाँ राजनीतिक दल गठन तथा आगामी निर्वाचनको सम्भावनासँग सम्बन्धित रहेको छ ।
छलफलमा सहभागी एक सदस्यका अनुसार पार्टीको नाम र चुनाव चिन्हबारे लगभग सहमति भइसकेको छ । मेयर बालेनले सहरी योजना आयोगमा सहायक विज्ञ बनाएका सन्तोष गिरीसहितको टोलीले पार्टीसम्बन्धी आवश्यक दस्ताबेजसमेत तयार गरिसकेको जनाइएको छ ।
बालेन निकट स्रोतका अनुसार जेनजी आन्दोलन र त्यसपछि देखिएको सुशासनको अवस्थालाई ध्यानमा राख्दै बालेन स्वयं पार्टी नेतृत्वमा आउनुपर्ने निष्कर्ष निकालिएको हो । ‘पार्टीको सम्पूर्ण दस्ताबेज तयार छ । अब टिम मिल्नेबित्तिकै अगाडि बढ्ने तयारी छ,’ बालेन निकट एक व्यक्तिले बताए । उनका अनुसार पार्टी ‘देश विकास पार्टी’ हुनेछ भने चुनाव चिन्ह ‘लौरो’ रहने लगभग निश्चित छ । यद्यपि, कति र कुन–कुन व्यक्ति समेट्ने भन्ने विषयमा पुनः छलफल भइरहेको छ ।
छलफलमा सहभागी एक सदस्यका अनुसार पार्टीका लागि आवश्यक व्यक्तित्व कस्ता हुने भन्ने विषयमा गहन छलफल भइरहेको छ । अर्का सहभागीले भने, ‘मेयर बालेन आफैँ पार्टीको नेतृत्व गर्दा कति समर्थन र शक्ति जुट्न सक्छ भनेर बुझ्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाटमा जुटेका हुन् । सबैलाई फरक–फरक समय दिएर बोलाइएको थियो, पछि सामूहिक छलफलको रूप पनि लियो ।’
प्रत्यक्ष चुनाव लड्न सक्ने व्यक्तित्वसँग भेट
मेयर बालेनले भेटघाट व्यवस्थापनका लागि आफ्ना निकट मित्र तथा महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई सक्रिय रूपमा परिचालन गरेका थिए । सहभागीका अनुसार बालेनले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सार्वजनिक छवि राम्रो भएका व्यक्तिहरू आवश्यक पर्ने बताएका थिए ।
छलफलमा वरिष्ठ चिकित्सक डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझा उपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाल, कलाकार तथा निर्देशक निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, महानगरपालिकाका सल्लाहकार सुनिल लम्साल तथा देश विकास पार्टीका अनन्तराज घिमिरेको सहभागिता रहेको थियो ।