काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेको संकेत दिएका छन्। बिहीबार विभिन्न राजनीतिक दल र ‘जेन–जी’ प्रतिनिधिहरूसँगको छलफलमा बालेनले आफू अब दलीय राजनीतिमा आएको स्पष्ट पारेका हुन्।
हाल बालेन आफैँ पार्टी सञ्चालन गर्ने कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालसँग सहकार्य गर्दै अघि बढ्ने भन्ने विषयमा अन्योल देखिएको छ। यद्यपि, ती दुई दलसँगको वार्ता सकारात्मक नभएपछि बालेनले आफ्नै पार्टी सञ्चालन गर्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ।
बालेनको संरक्षणमा ‘लौरो’ चुनाव चिन्हसहित ‘देश विकास पार्टी’ नामको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ। उल्लेखनीय छ, बालेनले गत स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिँदा पनि ‘लौरो’ नै चुनाव चिन्ह पाएका थिए।
उनको पार्टी कार्यालय ललितपुरको ज्वागल क्षेत्रमा स्थापना गरिएको छ। बिहीबार दिनभर बालेन आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा बसेर आन्तरिक छलफलमा सहभागी भए भने उनका निकटका व्यक्तिहरू पार्टी कार्यालयको सजावट तथा व्यवस्थापनमा व्यस्त देखिन्थे।
बालेननिकट स्रोतका अनुसार ज्वागल क्षेत्रमै पार्टी गतिविधि सञ्चालन गर्ने पूर्वतयारी पहिल्यैदेखि गरिएको थियो।
स्रोतले भन्यो, “ज्वागलमा हाम्रो पूर्वतयारी थियो। सोहीअनुसार यो घर खोजिएको हो। अब यहीँबाट सबै गतिविधि सञ्चालन हुन्छन्। अफिस सेटअपको काम सुरु भइसकेको छ।”
बालेनको आगामी राजनीतिक यात्राबारे औपचारिक घोषणा हुन बाँकी रहे पनि नयाँ दल गठनसँगै राष्ट्रिय राजनीतिमा उनको सक्रिय भूमिका चासोको विषय बनेको छ।