हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा भएको आगलागीबाट दुई जना घाइते भएका छन् भने पाँच वटा घरमा क्षति पुगेको छ। स्थानीय विजय फडेराका अनुसार गएराति स्थानीय लैबा फडेराको घरबाट अचानक सुरु भएको आगलागीले गाउँका अन्य घरहरूमा समेत क्षति पुर्याएको हो।
आगलागीमा परेर स्थानीय लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि राति नै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएको थियो।
आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। आगो निभाउने कार्यमा खटिएका स्थानीय विजय फडेराका अनुसार हालसम्म क्षतिको पूर्ण विवरण र मूल्याङ्कन हुन सकेको छैन।
रिप गाउँ तथा छिमेकी उनापानीका स्थानीयको पहलमा बिहान करिब साढे २ बजेतिर आगो नियन्त्रणमा लिइएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख विष्णु श्रेष्ठका अनुसार प्रहरी टोली आगो नियन्त्रणमै खटिएकाले तत्काल क्षतिको विवरण यकिन गर्न सकिएको छैन। उनका अनुसार घटनामा घाइते भएका दुवै जनालाई सिमकोट ल्याइसकिएको छ र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
घटनास्थलमा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार तथा राहत सामग्रीसहित पुगेको बताइएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै आकस्मिक उपचार सुरु गरिएको थियो। उनले बताएअनुसार लैबा फडेराको शरीर करिब ५४ प्रतिशत जलेको छ भने बम्बु फडेराको शरीर १८ प्रतिशत जलेको छ।
डा. तिवारीका अनुसार लैबाको अवस्था गम्भीर रहेकाले जिल्ला बाहिर रिफर गरिएको छ। “बिहान जहाज उपलब्ध हुनेबित्तिकै प्रदेश अस्पताल वा अन्य उपयुक्त स्वास्थ्य संस्थामा पठाउने तयारी गरिएको छ,” उनले बताए।