काठमाडौँ । बंगलादेशमा फेरि एकपटक भीड हिंसाको घटनामा एक हिन्दू युवकको ज्यान गएको छ। बुधबार राति करिब ११ बजे राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भीडले कुटपिट गर्दा २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अमृतमाथि जबरजस्ती चन्दा असुली गरेको आरोप लगाउँदै स्थानीय भीडले आक्रमण गरेको हो। उनी होसेन्डांगा गाउँकै बासिन्दा थिए। पाङ्शा प्रहरी चौकीमा अमृतविरुद्ध यसअघि दुईवटा मुद्दा दर्ता भएको बताइएको छ, जसमा एउटा हत्यासम्बन्धी मुद्दा पनि समावेश रहेको प्रहरीको भनाइ छ।
चन्दा असुलीको आरोप र घटनाक्रम
बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार अमृतले आपराधिक गिरोह सञ्चालन गर्दै लामो समयदेखि जबरजस्ती चन्दा असुली र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको स्थानीयको आरोप छ। उनी लामो समय भारतमा लुकेर बसेपछि हालै मात्र गाउँ फर्किएका थिए।
प्रहरीका अनुसार डिसेम्बर २४ को राति अमृत र उनका केही साथीहरू गाउँका बासिन्दा शाहिदुल इस्लामको घरमा पैसा असुल्न पुगेका थिए। सो क्रममा परिवारका सदस्यहरूले ‘चोर–चोर’ भन्दै कराएपछि स्थानीय भेला भएका थिए। त्यसपछि भीडले अमृतलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो। उनका अन्य साथीहरू भाग्न सफल भए भने सलीम नामका एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्।
यसअघि पनि हिन्दू युवकको हत्या
यसअघि डिसेम्बर १८ मा ढाका नजिकै हिन्दू युवक दिपु चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको थियो। पछि उनको शव झुण्ड्याएर जलाइएको थियो। उक्त घटनाले बंगलादेशमा धार्मिक अल्पसंख्यकको सुरक्षाबारे गम्भीर चिन्ता बढाएको छ।
धर्म निन्दाको आरोप पुष्टि नभएको खुलासा
दिपु चन्द्र दासको हत्यासम्बन्धी अनुसन्धानमा पछिल्लो समय ठूलो खुलासा भएको छ। सामाजिक सञ्जालमा धार्मिक भावनामा चोट पुर्याउने पोस्ट गरेको आरोपका आधारमा उनलाई आक्रमण गरिएको भनिए पनि अनुसन्धान एजेन्सीहरूले त्यस्तो कुनै प्रमाण फेला नपरेको बताएका छन्।
बंगलादेशको र्यापिड एक्सन बटालियन (RAB) का कम्पनी कमाण्डर मोहम्मद शमसुज्जमानले द डेली स्टार लाई दिएको जानकारीअनुसार दिपु दासले फेसबुकमा कुनै आपत्तिजनक वा उत्तेजक सामग्री पोस्ट गरेको पुष्टि हुन सकेको छैन। उक्त घटनामा हालसम्म १२ जनालाई पक्राउ गरिएको छ भने अफवाह कसले फैलायो भन्नेबारे अनुसन्धान भइरहेको छ।
हिंसाबारे शेख हसिनाको आरोप
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेत्री शेख हसिनाले अन्तरिम सरकारले देशका गैर–मुस्लिम समुदायमाथि “अकल्पनीय र भयानक अत्याचार” गरिरहेको आरोप लगाएकी छन्। उनले धार्मिक अल्पसंख्यकहरूको धार्मिक स्वतन्त्रतामा हस्तक्षेप भइरहेको दाबी गर्दै भीडद्वारा हत्या र जिउँदै जलाउने घटनाहरू बढेको बताएकी छन्।
“अगस्टमा हाम्रो सरकार पतन भएदेखि हिन्दू र अन्य अल्पसंख्यकहरू निरन्तर हिंसाको शिकार भइरहेका छन्,” हसिनाले भनेकी छन्, “तर बंगलादेशका जनताले यो अँध्यारो समय लामो समयसम्म सहने छैनन्।”
विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि तनाव
बंगलादेशमा पछिल्ला दिनहरूमा फैलिएको हिंसा विद्यार्थी नेता शरीफ उस्मान बिन हादीको मृत्युपछि चर्किएको बताइएको छ। इन्किलाब मञ्चका ३२ वर्षीय नेता हादीको मृत्यु भएपछि राजधानी ढाकासहित चार सहरमा आगजनी र तोडफोडका घटनाहरू भएका थिए।
हादी शेख हसिना सरकारविरुद्धको विद्यार्थी आन्दोलनका प्रमुख नेता थिए। डिसेम्बर १२ मा चुनाव प्रचारका क्रममा गोली लागेपछि उनलाई उपचारका लागि सिंगापुर पठाइएको थियो। यद्यपि, डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो।