काठमाडौँ : नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने राजनीतिक शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि पछिल्लो समय देखिएका एकताको प्रयासहरू विचारमा आधारित छन् कि स्वार्थमा, भन्ने विषयमा संशय कायमै रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नै राज्यसत्तामा पुग्न खोज्नु सकारात्मक भएको उल्लेख गरे। “सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रक्रियाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु स्वागतयोग्य हो,” उनले लेखेका छन्।
तर, यस्ता भेटघाट र एकताको प्रयासलाई लिएर अतिरञ्जित प्रचार भइरहेकोप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले यसलाई दक्षिण भारतीय चलचित्रसँग तुलना गर्दै केही व्यक्तिहरूको मिलनले देशको सबै समस्या समाधान हुनेजस्तो ‘तारणहार’को भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन्।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भइरहेको भनिएको पार्टी एकता प्रयासप्रति सङ्केत गर्दै ज्ञवालीले व्यक्तिकेन्द्रित राजनीतिबाट देशले निकास नपाउने स्पष्ट पारे। “देश निर्माण व्यक्तिको मात्र भूमिकाबाट सम्भव हुँदैन, अन्ततः विचार, संस्था, प्रणाली र सामूहिकताबाट नै देश बन्छ,” उनले उल्लेख गरेका छन्।
उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, भूराजनीतिक चुनौती, जलवायु परिवर्तन तथा संविधानका विषयमा स्पष्ट विकल्प आवश्यक रहेकोमा जोड दिएका छन्। यस्ता गम्भीर प्रश्नमा स्पष्ट दृष्टिकोण नभई केवल नकारात्मकता, निषेध र घृणाले मुलुक अघि बढ्न नसक्ने ज्ञवालीको धारणा छ।