काठमाडौँ, पुस १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालको पहिलो १०० दिनभित्र १०१ महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन्।
शनिबार १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री घिसिङले ठेक्का तोडफोड, विद्युत् निर्यात, ठूला जलविद्युत् आयोजना अघि बढाउने निर्णय, पूर्वाधार पुनर्निर्माण तथा नीतिगत सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुली सुरु गरिएको, करिब १९ अर्ब रुपैयाँ बराबरको विद्युत् भारत र बंगलादेश निर्यात गरिएको, मध्यभोटेकोशी जलविद्युत आयोजना सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोडिएको र बुढीगण्डकी तथा अपर अरुणजस्ता ठूला आयोजना स्वदेशी लगानीमा अघि बढाउने मोडालिटी तय गरिएको उनले जानकारी दिए। विद्युत प्रसारण प्रणालीलाई स्मार्ट बनाउने, ऊर्जा बन्ड जारी गर्ने र नेपाल विद्युत प्राधिकरणको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, ४० वटा रुग्ण ठेक्का तोडफोड, करिब १६० किलोमिटर सडक कालोपत्रे, १० पुल निर्माण, सिद्धबाबा र नागढुंगा सुरुङ मार्गमा उल्लेखनीय प्रगति, तथा स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरिएको उल्लेख गरिएको छ। साथै राष्ट्रिय यातायात नीति, सडक सुरक्षा कार्ययोजना र सार्वजनिक खरिद कानुन संशोधनको मस्यौदा तयार गरिएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत जेन–जी आन्दोलनबाट क्षति पुगेका १४० सरकारी भवनको पुनर्निर्माण, कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरण सम्पन्न, बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा सहमति, बागमती नदी सफाइ तथा करिडोर उज्यालो बनाउने काम, भूकम्प प्रतिरोधी भवन संहिता परिमार्जन, झोलुङ्गे पुल र अस्पताल भवन निर्माणलगायत काम अघि बढाइएको मन्त्री घिसिङले बताए।
मन्त्री घिसिङले सीमित समयमा देखिने र परिणाममुखी काम भएको दाबी गर्दै आगामी दिनमा ऊर्जा निर्यात विस्तार, पूर्वाधारको गुणस्तर सुधार र सहरी सेवाको दिगोपनलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।
उनका अनुसार १०१ उपलब्धिमध्ये ऊर्जा मन्त्रालयमा ३१, भौतिक पूर्वाधार मन्त्रालयमा ३६ र सहरी विकास मन्त्रालयमा ३४ उपलब्धि हासिल भएका छन्।