खोटाङ, पुस १२।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ।
नेकपा खोटाङको दिक्तेलस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय प्रतिनिधि तथा जिल्ला सचिवालय समितिको बैठकले प्रत्यक्षतर्फ सात, समानुपातिकतर्फ दश र राष्ट्रियसभाका उम्मेदवार नेताहरुको नाम सिफारिस गरेको जिल्ला संयोजक दिपक पाण्डे आकाशले जानकारी दिए।
प्रत्यक्षतर्फ सिफारिस गरिएका उम्मेदवारहरुमा जेनजी उमेर समूह तथा शहीद परिवारको प्रतिनिधि प्रतीक कार्की, पूर्व सांसद तथा पार्टी अनुशासन आयोगका अध्यक्ष टंक राई, संविधानसभा सदस्य हरि रोका, पार्टी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई पासाङ, प्रदेश उपाध्यक्ष देवान किराती पृथ्वी, भीम राई र शम्भु घिमिरे रहेका छन्। सिफारिस गरिएका नामहरु नेपाली वर्णानुक्रम अनुसार राखिएको छ।
समानुपातिकतर्फ केन्द्रीय सदस्य समिता कार्की अस्मिता, दुर्गाजयन्ती राई, तेजमाया राई, देवराज राई, रमिला गुरुङ, जेनजी उमेर समूहबाट शुभलाल राई आदेश, जनयुद्धका नेता टंकनाथ तामाङ ‘मदन’, तथा जिल्ला नेताहरु पर्शु विश्वकर्मा, निर्मल श्रेष्ठ र हरिश्चन्द्र गिरीको नाम सर्वसम्मत सिफारिस गरिएको छ। यसमा भूगोल, जाति र उमेर समूहलाई आधार मानेर दस जना उम्मेदवार चयन गरिएको नेकपा खोटाङले जनाएको छ।
राष्ट्रियसभा सदस्यतर्फ पूर्व सांसद कुलप्रसाद फुयाँलको एकल नाम सिफारिस गरिएको छ।
जिल्लाबाट सिफारिस गरिएका उम्मेदवारहरुको अन्तिम निर्णय पार्टीको प्रदेश र केन्द्रीय समितिले जनभावना तथा संगठनात्मक क्षमता अनुसार गर्ने बताइएको छ। उम्मेदवार छनोटका लागि पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यहरु जिल्ला उपस्थित थिए।
जिल्ला संयोजक पाण्डेले यस पटकको निर्वाचनमा पार्टीले जनभावना र सङ्गठनात्मक क्षमतालाई ध्यानमा राखेर उम्मेदवार सिफारिस गरेको र सिफारिस गरिएका सबै नाम अन्तिम निर्णयका लागि प्रदेश र केन्द्रीय समितिमा पठाइने जानकारी दिए।