काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यतालिका तय गरिएको छ। यसका लागि कान्तिपथस्थित आयोग परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पूर्ण रूपमा तयारी अवस्थामा रहेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले दर्ता भएका राजनीतिक दलहरूलाई रीतपूर्वक बन्दसूची पेस गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेअनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरेर मात्र बन्दसूची पेस गर्नुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले निर्वाचन कार्यक्रममा तोकिएको समयसीमाभित्र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।
साथै, राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि तयार पारेको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यवस्था रहेको पनि आयोगले जनाएको छ।
आयोगले आवश्यक सबै कागजात पूरा नगरी बन्दसूची पेस नगर्न दलहरूलाई पुनः आग्रह गर्दै तोकिएको कानुनी प्रावधानको पूर्ण पालना गर्न अनुरोध गरेको छ।