उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच प्रस्तावित एकता तत्काल अघि नबढ्ने देखिएको छ।
दुवै पक्षका नेताबीच पटक–पटक छलफल भए पनि सहकार्य वा पार्टी एकताका विषयमा ठोस सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्।
प्रलोपा अध्यक्ष परिषद्की सदस्य ओजस्वी भट्टराईका अनुसार हिजो बेलुका उज्यालो नेपाल पार्टीका संरक्षक एवं मन्त्री कुलमान घिसिङसँग छोटो छलफल भएको थियो। छलफल औपचारिकभन्दा पनि सामान्य संवादमै सीमित रहेको र फेरि भेट्ने सहमतिसहित टुंगिएको उनले बताइन्।
‘हिजो एकैछिन कुलमानजीसँग कुराकानी भयो। हामीले पार्टी एकताका लागि तयार रहेको कुरा राख्यौँ। तर खासै विस्तृत छलफल हुन सकेन। फेरि भोलि बसौँला भनेर छुट्टियौँ,’ भट्टराईले भनिन्।
प्रलोपा अध्यक्ष परिषद्का अर्का अध्यक्ष सन्तोष परियारले पनि प्रलोपाकै केही नेताहरूको पहलमा कुलमानसँग भेट भएको तर ठोस छलफल अघि बढ्न नसकेको बताए।
‘उज्यालो नेपालका साथीहरूले बसेर कुरा गरौँ भन्नुभएको थियो। हामी त मुद्दा मिल्ने भए एक भएर जान खुला छौँ भनेकै हो,’ उनले भने, ‘तर अब तत्काल केही होला जस्तो लाग्दैन।’
हिजोको भेटमा उज्यालो नेपाल पार्टीको तर्फबाट कुलमान घिसिङ मात्र सहभागी थिए भने प्रलोपातर्फ ओजस्वी भट्टराई, सन्तोष परियारलगायत नेताहरू उपस्थित थिए।
कुलमान घिसिङनिकट स्रोतका अनुसार पनि प्रलोपा पार्टीसँगको एकता विषयलाई गम्भीर रूपमा अघि बढाइएको देखिँदैन।