नेपालमा क्रान्ति, आन्दोलन र विद्रोह पटक–पटक भए तर सर्वसाधारण नागरिकले चाहेको परिवर्तन देख्न पाएनन् । २००७ सालको क्रान्तिपछि सुदिनको प्रतीक्षा गर्दागर्दै उनीहरूले २०१७ सालको कुदिन देख्नुपर्यो । त्यसपछि लामो संघर्षपछि २०४६ सालको परिवर्तनबाट फेरि सुदिनको आशा पलायो, तर यसले पनि जनतालाई सन्तुष्ट बनाउन सकेन । लगत्तै २०६३ सालको जनआन्दोलन भयो र २५० वर्ष लामो राजतन्त्र समाप्त भयो ।
राजाको अधिकार जनतामा आएपछि आउने सुदिनको अपेक्षामा नयाँ संविधान बन्यो । संविधानसभामार्फत संविधान निर्माण हुने २००७ सालदेखिको चाहना पनि पूरा भयो । संघीय ढाँचाको संविधान आएपछि विकास हुन्छ र जनचाहना पूरा हुन्छ भन्ने आत्मविश्वास बढ्यो । तर अपेक्षित सुधार हुन नसक्दा असन्तुष्टि र विद्रोह झनै चर्कँदै गयो । पछिल्लो जेनजी विद्रोहले २४ घण्टाभित्रै सत्ता हल्लायो र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बहसलाई पुनः सतहमा ल्यायो ।
पूर्ववत् परिवर्तनजस्तै केवल व्यवस्था फेरिँदैमा मात्र देश विकास हुँदैन । जबसम्म नेतृत्व वर्गको बानी–व्यवहार र सोचमा परिवर्तन आउँदैन, तबसम्म जनताले वास्तविक लाभ पाउने सम्भावना कमजोर रहन्छ । राजनीतिक नेतृत्वले आकर्षक नारा र परिवर्तनका आश्वासन बाँडिरहे पनि जनताको चेतनाको कमजोरीकै कारण उही प्रवृत्तिका नेताहरू बारम्बार निर्वाचित भइरहेका छन् ।
यसबाट जनताले सिक्नुपर्ने मुख्य पाठ भनेको व्यवस्था परिवर्तनभन्दा नेतृत्व, विचार र नैतिकताको प्रश्नलाई प्राथमिकता दिनु हो । व्यवस्था साधन हो भने साध्य भनेको विवेकी र उत्तरदायी नेतृत्व हो । नेतृत्व स्वार्थी र सत्ता–लोलुप भयो भने कार्यकर्ता पनि भेडाझैँ अनुयायी बन्ने यथार्थ २००७ सालदेखि हालसम्म पुष्टि हुँदै आएको छ ।
अहिलेको राजनीतिक नेतृत्वको जीवनशैली, विलासी सोच, भ्रष्टाचार र नागरिकसँगको दूरीकै कारण विद्रोहहरू उत्पन्न भइरहेका छन् । ठूला नेताको आगमनमा विद्यालय बन्द गराउने, महँगा माला र तामझामको संस्कृति, कमिसन र घुसले कर्मचारीतन्त्रसम्म भ्रष्ट बनाएको छ । यसले राज्यलाई कमजोर बनाउँदै लगेको छ ।
राजनीतिक नेतृत्वमा ‘इनलाइटमेन्ट’ अर्थात् विवेक र चेतनाको अभाव देखिन्छ । नागरिक समाजको आधार नै चेतना र विवेक हो । यसलाई सुदृढ गर्न विचारमा सुधार र व्यवहारिक विश्लेषण आवश्यक छ । दल र नागरिक समाज जनताको स्वतन्त्र इच्छा अभिव्यक्त गर्ने थलो हुनुपर्छ ।
यही सन्दर्भमा नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद र जेनजी आन्दोलनप्रति नयाँ पुस्ताका नेताहरूको दृष्टिकोणले राजनीतिक भविष्यको दिशा निर्धारण गर्ने देखिन्छ । गगन थापालगायत नयाँ पुस्ताका नेताहरूप्रति बढ्दो भरोसा र नागरिक चेतनाको जागरणले नेपाललाई सही ट्रयाकमा ल्याउने आशा पलाउन थालेको छ ।
जेनजी आन्दोलनपछि नेपालको राजनीतिक क्षितिजमा देखिएको सकारात्मक किरणलाई स्थायी बनाउन नागरिक शिक्षा, पारदर्शिता, जवाफदेहिता र विवेकी नेतृत्व अपरिहार्य छ । अन्यथा व्यवस्था फेरिए पनि परिणाम फेरिने छैन ।