काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्न असफल भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै, इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्ने कुनै पनि प्रयास गरेमा त्यसलाई ‘छिटो उन्मूलन’ र ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने धम्कीसमेत दिएका छन् ।
सोमबार फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । उनीहरूबीच गाजामा लागू भएको युद्धविराम सम्झौतालाई अगाडि बढाउने, इरान र लेबनानमा हिजबुल्लाहप्रति इजरायली चिन्तालाई सम्बोधन गर्ने विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।
ट्रम्पले इजरायलले गाजा युद्धविराममा आफ्नो भूमिका निर्वाह गरिरहेको दाबी गर्दै हमासलाई सम्झौतामा अडिग रहन चेतावनी दिएका छन् । ‘हामीले हमास र निशस्त्रीकरणका विषयमा छलफल गरेका छौँ । उनीहरूलाई केही समय दिइनेछ । यदि सहमतिअनुसार निशस्त्रीकरण गरेनन् भने, नर्कको बाटो रोज्नुपर्ने हुन्छ,’ ट्रम्पले भने ।
ट्रम्पको चेतावनीपछि हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । अक्टोबर १० मा लागू भएको युद्धविरामको पहिलो चरणमा बन्धकहरूको आदानप्रदान, सहायता वृद्धि तथा गाजाबाट आंशिक इजरायली फिर्ताको व्यवस्था गरिएको छ । तर हमासले अझै एक इजरायली बन्धकको शव फिर्ता नगरेको र इजरायलले निरन्तर आक्रमण तथा सहायतामा प्रतिबन्ध लगाइरहेको रोयटर्सले उल्लेख गरेको छ ।
यसैबीच ट्रम्पले इरानले अमेरिकी हवाई आक्रमणपछि क्षतिग्रस्त तीन आणविक केन्द्र पुनः निर्माण गर्ने प्रयास गरिरहेको हुन सक्ने संकेत दिएका छन् । ‘यदि इरानले फेरि आणविक केन्द्र निर्माण गर्ने प्रयास गर्यो भने, हामी त्यसलाई पूर्ण रूपमा नष्ट गर्नेछौँ,’ ट्रम्पले पत्रकारहरूलाई भने ।
इरानले भने आणविक हतियार निर्माणको प्रयास अस्वीकार गर्दै आएको छ । जुन महिनामा भएको १२ दिने द्वन्द्वका क्रममा इरानले इजरायली आक्रमणको जवाफमा सयौँ क्षेप्यास्त्र प्रहार गरेको थियो । ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौतामा आउनसमेत आग्रह गरेका छन् ।