काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुत पनि परेका छन् । रास्वपाले सोमबार सपुतसहित ११० जनाको नाम निर्वाचन आयोगमा पेस गरेको हो ।
समानुपातिक सूचीमा परेको विषयमा कान्तिपुरसँग प्रतिक्रिया दिँदै प्रकाश सपुतले सरकार र नेपाली राजनीतिप्रति गुनासो मात्रै गरेर नबस्ने निर्णय गर्दै संसदीय प्रक्रिया नजिकबाट बुझ्न र देश विकासमा योगदान दिन राजनीतिमा प्रवेश गरेको बताए । ‘जहिल्यै आलोचना मात्रै गरिरहनुभन्दा अब जिम्मेवारी बोकेर जवाफ दिने ठाउँमै पुग्ने सोच बनाएको हुँ,’ उनले भने ।
३५ वर्षका प्रकाशका अनुसार उमेरको उत्तरार्द्धमा कलाकारको जीवन निराशातर्फ ढल्किने अवस्था देखिएकाले त्यो ऊर्जा र सोच देशसँग जोड्ने उद्देश्यले राजनीतिमा पाइला चालेका हुन् । कलाकारितामार्फत पनि उनले राजनीतिज्ञ र सामाजिक बेथितिमाथि प्रश्न उठाउँदै आएका थिए ।
‘यो निर्णय महत्त्वाकांक्षाभन्दा पनि जिम्मेवारीको महसुस हो । कम्तीमा राजनीति फोहोरी खेल हो भन्ने धारणा बदल्न योगदान दिन चाहेको हुँ,’ प्रकाशले बताए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सक्रियता र रास्वपाका सभापति रवि लामिछानेको राजनीतिक अभ्यासबाट आफू प्रभावित भएको उनले उल्लेख गरे ।
रास्वपाको उदयसँगै प्रकाश राजनीतिमा आउने–नआउने विषयमा औपचारिक र अनौपचारिक छलफलमा सहभागी हुँदै आए पनि पारिवारिक जिम्मेवारी र कलाकारिताका कारण तत्काल निर्णय लिन नसकेको बताए । तर जेन–जी आन्दोलन र नयाँ राजनीतिक शक्तिको उदयपछि आफूलाई यो समय उपयुक्त लागेको उनको भनाइ छ ।
अभिनय र संगीत क्षेत्रमा सक्रिय प्रकाशले अब कलाकारिता र राजनीतिलाई सँगसँगै अघि बढाउने योजना बनाएका छन् । उनको अभिनय रहेको चलचित्र ‘मिरमिरे’ माघमा प्रदर्शनमा आउने तयारीमा छ भने वैशाखमा ‘परालको आगो’ रिलिज हुँदैछ ।
१५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय प्रकाश सपुतका ‘गलबन्दी’, ‘पीर’, ‘सकम्बरी’, ‘बोल माया’, ‘दमाई महाराजा’लगायतका गीतहरू लोकप्रिय छन् ।