काठमाडौं।
भारी वर्षाका कारण क्षति पुगेका इलामका सडक तथा पुलको मर्मत र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँको स्रोत सहमति दिएको छ। गत १८ र १९ असोजमा परेको भारी वर्षाले इलामका प्रमुख सडक संरचनामा ठूलो क्षति पुगेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको कार्यक्रमअनुसार अर्थ मन्त्रालयले उक्त स्रोत सहमति प्रदान गरेको हो।
अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलासे, पुवाखोला पुल, जोगमाइखोला पुल तथा मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिनेछ। चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक ५४ करोड रुपैयाँसमेत निकासा भइसकेको छ।
स्रोत सहमति प्राप्त भएसँगै अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य तत्काल सुरु गर्न सडक विभागलाई निर्देशन दिएका छन्। उक्त कार्य सडक विभाग मातहतको सडक डिभिजन कार्यालय, इलाममार्फत कार्यान्वयन गरिनेछ।
मनसुनजन्य विपद्का कारण ३९ जनाको मृत्यु र ठूलो भौतिक क्षति भएपछि सरकारले २३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो। २५ असोजमा मन्त्री घिसिङसहितको उच्चस्तरीय टोलीले इलाम पुगेर क्षतिको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारलाई राहत, संरचनाको तत्काल मर्मत तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो।
स्रोत सहमतिअनुसार सबैभन्दा बढी १ अर्ब ५० करोड रुपैयाँ मेची राजमार्ग पुनर्निर्माणका लागि विनियोजन गरिएको छ। यस्तै माइखोला मोटरेबल स्थायी पुल राजदुवालीका लागि २० करोड, माइखोलास्थित बेलासे पुलका लागि २५ करोड, पुवाखोला र जोगमाइखोलामा बेली ब्रिज निर्माणका लागि ५/५ करोड तथा मेची करिडोरका लागि १४ करोड रुपैयाँ सुनिश्चित गरिएको छ।
चालु आवमा मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली र बेलासे पुलका लागि क्रमशः ५ र १० करोड तथा मेची करिडोरका लागि ४ करोड रुपैयाँ तत्काल निकासा दिइएको छ। दुईवटा बेली ब्रिज निर्माणका लागि आवश्यक सम्पूर्ण रकमसमेत निकासा भइसकेको मन्त्रालयले जनाएको छ।