काठमाडौं ।
मलेसियाली अध्यागमन विभाग (जेआईएम) ले सन् २०२५ को डिसेम्बर २४ सम्म देशभर सञ्चालन गरिएका १३ हजार ६७८ सुरक्षा अपरेसनमार्फत ९० हजारभन्दा बढी कागजातविहीन आप्रवासी कामदारलाई नियन्त्रणमा लिएको छ।
जेआईएमका उप–महानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्दी राम्लीका अनुसार सो अवधिमा २ लाख ३५ हजार ३४३ विदेशी नागरिकको कागजात जाँच गरिएको थियो, जसमा संयुक्त राष्ट्रसंघीय शरणार्थी परिचयपत्र भएका ५ हजार २९४ जनासमेत परेका थिए।
उनीका अनुसार विभागले प्रत्यक्ष गरेको अपरेसनबाट ५० हजार ४७२ जना अवैध आप्रवासी पक्राउ परे भने ४१ हजार ३५७ जनालाई मुख्य प्रवेश नाका तथा अन्य सुरक्षा निकायमार्फत हस्तान्तरण गरी नियन्त्रणमा लिइयो। पक्राउ परेमध्ये सबैभन्दा धेरै इन्डोनेसियाली नागरिक रहेको जेआईएमले जनाएको छ।
प्रकाशित तथ्यांकअनुसार पक्राउ परेका मध्ये इन्डोनेसियाका १५ हजार ३८५, बंगलादेशका ११ हजार १०५, म्यानमारका ९ हजार ७८९, फिलिपिन्सका ४ हजार ३६५, पाकिस्तानका २ हजार ४९७, भारतका १ हजार ६३०, थाइल्यान्डका १ हजार ४९३, चीनका १ हजार ३८, भियतनामका ९०९ र नेपालका ७६९ जना छन्। अन्य देशका नागरिक पनि सूचीमा परेका छन्।
त्यसैगरी कागजातविहीन कामदारलाई रोजगारी वा आश्रय दिएको आरोपमा २ हजार १२ जना मलेसियाली, ३४ जना बंगलादेशी, २१ जना इन्डोनेसियाली तथा पाकिस्तान, चीन, थाइल्यान्ड र म्यानमारका केही रोजगारदाता पनि पक्राउ परेका छन्। सार्वजनिक गुनासो र गुप्तचर सूचनाका आधारमा संचालन गरिएका यी कारबाही निरन्तर रहने विभागले जनाएको छ।
यसैबीच, अहिले मलेसियाका जेलमा १६४ नेपाली विभिन्न मुद्दामा सजाय काटिरहेका छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार तीमध्ये १९ जना हत्या, ३१ फौजदारी, २८ लागुऔषध, २१ मिश्रित मुद्दा र ६५ जना आप्रवासनसम्बन्धी मुद्दामा थुनामा रहेका छन्।