काठमाडौं
जाडो महिनामा जहाजमा यात्रा गर्ने योजना बनाउने यात्रुहरूले समयमै फ्लाइट नउड्ने सम्भावना ध्यानमा राख्न आवश्यक छ। एयरलाइन्स कम्पनीका कारण मात्र होइन, मौसम, विमानस्थल संरचना र प्रविधिक कारणले पनि जहाज डिले हुने गर्छ।
मौसम प्रमुख कारण
जहाज उडाउन मौसम सबैभन्दा महत्वपूर्ण हुन्छ। पाइलटले रनवे स्पष्ट देख्नुपर्ने भएकाले बिहानको समयमा काठमाडौं उपत्यका र तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्दा उडान ढिलो हुने गर्छ। केही एयरपोर्ट बिहानसम्म खुलेका नहुँदा जहाज उड्न ढिला हुन्छ।
विशेषगरी विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा हुस्सु र कुहिरोले एयरपोर्ट ढिला खुल्ने गरेको छ। उदाहरणका लागि काठमाडौँ–विराटनगर उडानमा अन्य एयरपोर्टहरू पनि खुलेको र सुरक्षित अवतरण गर्न सक्षम हुनुपर्छ। नभए सुरक्षा कारणले जहाज उड्दैन।
त्रिभुवन विमानस्थलको संरचना र एयर ट्राफिक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै धावनमार्ग र एप्रोच प्रणाली भएकाले जहाजहरू एकै समयमा उडान भर्न वा अवतरण गर्न सक्दैनन्। यहाँ हेलिकोप्टर उडान समेत हुने हुँदा एयर ट्राफिकमा पनि प्रभाव पर्छ।
बिहानको एउटा उडान ढिला हुँदा त्यसको ‘चेन इफेक्ट’ परेर अन्य उडानहरू पनि ढिला हुन्छन्। यसरी दिनभरीको उडान तालिकामा असर पर्न सक्छ।
प्रविधिक कारण र विमानस्थलको अवस्था
केही आन्तरिक विमानस्थलमा इस्ट्रुमेन्टल ल्यान्डिङ प्रणाली (ILS) नभएका कारण कुहिरो वा खराब मौसममा सुरक्षित अवतरण गर्न सकिँदैन। साथै, जहाज उड्नु अघि हुने ‘प्रि–फ्लाइट इन्सपेक्सन’मा सानो समस्या भेटिएमा जहाज ग्राउन्ड गरिएको हुन्छ।
त्रिभुवन विमानस्थलको पुरानो संरचना, रनवेको खाडल वा लाइट बिग्रिनुजस्ता कारणले पनि आकस्मिक डिले हुन सक्छ।
यात्रुलाई सुझाव
जाडो महिनामा जहाज यात्रा गर्दा एयरपोर्ट जाने अघि एयरलाइन्स कम्पनीबाट फ्लाइट स्ट्याटस सुनिश्चित गर्नु उपयुक्त हुन्छ। यसले घण्टौं कुर्नुपर्ने समस्याबाट केही राहत दिलाउन सक्छ।