धवलागिरी ।
म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति हाल ६० प्रतिशतमा सीमित रहेको छ। तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा बाँकी ४० प्रतिशत निर्माण कार्य सम्पन्न गर्नु चुनौतीपूर्ण देखिएको छ।
तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गत साउन महिनादेखि रोकिएको छ। मध्यहिउँदसम्म पनि निर्माण कार्य पुनःसूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले जानकारी दिनुभयो। भवन निर्माण पूरा नहुँदा भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको उहाँले गुनासो गर्नुभयो।
अस्पताल भवन निर्माणका लागि विसं २०७८ वैशाखमा धवलागिरी गाउँपालिकाले निर्माण कम्पनीसँग ४ करोड ७९ लाख ४० हजार ३३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
पाँच श्यया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री भवन निर्माण भइरहेको छ। भवनमा आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण तथा उपचारका लागि छुट्टाछुट्टै कक्ष रहनेछन्।
धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म मुख्य भवनको ढलान सम्पन्न भए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन। योजनाको तेस्रो पटक थपिएको म्याद आगामी असार महिनासम्म रहेको छ।
धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले अस्पताल भवन निर्माण कार्यमा फर्कन ठेकेदारलाई पटक–पटक ताकेता गरिएको बताउनुभयो। “आर्थिक वर्षको अन्त्यतिर मात्रै ठेकेदार देखिने र अन्य समयमा सम्पर्कबिहीन हुने समस्या छ,” उहाँले भन्नुभयो, “बैंक धरौटी जफत तथा कालोसूचीमा राख्ने विषयमा कार्यपालिकामा छलफल भइरहेको छ।”
निर्माण कम्पनीका प्रतिनिधि दीपक अदैले बर्खायाम र प्रतिकूल मौसमका कारण निर्माण कार्य रोकिएको बताउँदै केही दिनमै मजदुर र निर्माण सामग्रीसहित काम पुनःसूचारु गर्ने प्रतिबद्धता जनाउनुभयो। संघीय सरकारले समयमै भुक्तानीका लागि बजेट उपलब्ध गराए चालु आर्थिक वर्षमै भवन निर्माण सम्पन्न गर्ने उहाँको भनाइ छ।
विसं २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले अस्पताल भवनको शिलन्यास गर्नुभएको थियो। संघीय सरकारको प्रत्येक पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीति अन्तर्गत ताकममा अस्पताल भवन निर्माण भइरहेको हो।