काठमाडौँ
सार्वजनिक सेवा प्रसारण नेपाल र प्रेस काउन्सिल नेपालबीच मूलधारका सञ्चार माध्यमको प्रभावकारिता, विश्वसनीयता र आचारसंहिताको कार्यान्वयनबारे छलफल भएको छ।
सार्वजनिक सेवा प्रसारण नेपालले बिहीबार सिंहदरबारमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सोच र कार्यशैली परिवर्तन गरेर पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारिताको विश्वसनीयता बढाउन र प्रेस स्वतन्त्रताको संरक्षण गर्न काउन्सिल निर्भयताका साथ क्रियाशील रहेको बताउनुभयो। साथै, संविधानमा उल्लेखित नागरिक अधिकारसँगै नागरिक कर्तव्यलाई पनि बोध गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरणपछि रेडियो नेपाल र नेपाल टेलिभिजन ‘जनता पहिलो’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको जानकारी दिनुभयो। बजार र सरकारको स्वार्थको दबाबबाट बाहिर रहेर काम गर्दा जनताको रुचि र चाहनाका विषयवस्तु सम्प्रेषणमा सकारात्मक परिणाम देखिएको उहाँको भनाइ थियो।
सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले परिवर्तित सन्दर्भमा जनताप्रति उत्तरदायित्व बढाउँदै रेडियो नेपाल र नेपाल टेलिभिजनले काम गरिरहेको बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारी र मुख्य अधिकृत झबिन्द्र भुषालले पत्रकारिताको विश्वसनीयता अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण नेपालले गर्दै आएको प्रयासको सराहना गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउन काउन्सिलको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजनका समाचार प्रमुखद्वय पवन प्याकुरेल र पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका अध्यक्ष भुषण पोखरेललगायतले प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुसार विगतदेखि नै अभ्यास हुँदै आएको र आगामी दिनमा यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुभयो।