काठमाडौँ
सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयवासीको मृत्यु भएपछि सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रशासन र पीडित परिवारबीच ५ बुँदे सहमति भएको छ। सहमतिसँगै जिल्लाको अवस्था सामान्य बन्दै गएको सुनसरी प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय इनरूवामा भएको छलफलपछि पाँचबुँदे सहमति कायम भएको हो। कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवका अनुसार सहमतिसँगै शव व्यवस्थापन र तनाव अन्त्य गर्ने विषयमा पनि समझदारी बनेको छ।
नेपाल–भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको बुधबार बिहान करिब १ः१० बजे मृत्यु भएको थियो। घटनापछि त्यसको विरोधमा लौकही बजार क्षेत्र तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
सशस्त्र प्रहरीले घटना दोहोरो भीडन्तका क्रममा भएको दाबी गर्दै आएको छ भने स्थानीयवासीले भने गोली प्रहारबाट मृत्यु भएको आरोप लगाएका थिए।
घटनाको सत्यतथ्य छानबिन गर्न पीडित परिवारसहितको सर्वपक्षीय छलफलबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन्। समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको उपाध्यक्ष यादवले जानकारी दिइन्।
छानबिन प्रतिवेदनमा सुरक्षा निकायको लापरबाही देखिएमा नियमानुसार राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ। साथै, मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहल र सहजीकरण गर्ने सहमति पनि भएको छ।
त्यस्तै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको छ।
सहमति भएसँगै मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको प्रशासनले जनाएको छ।