कास्की
पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। पोखरा ग्रीड महाशाखाअन्तर्गत कुँडहर सबस्टेशनको १३२ केभी ‘बसबार’ मर्मत तथा स्तरोन्नति कार्य सुरु हुने भएकाले बिहान ६ देखि ११ बजेसम्म पोखराका अधिकांश क्षेत्रमा बिजुली बन्द हुने पोखरा वितरण केन्द्रले जनाएको छ।
वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का प्रक्रियासहित कार्य सुरु गरेको हो। उक्त अवधि भरि कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडर सटडाउन रहनेछन्। मर्मत समयभन्दा अघि सकिएमा विद्युत् आपूर्ति चाँडै सामान्य हुने पनि उनले जानकारी दिए। विजयपुरदेखि हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा आपूर्ति बन्द रहने छ।
यससँगै पोखरा महानगरपालिकाले बजार क्षेत्र ताररहित बनाउने अभियानमा इन्टरनेट सेवा प्रदायकहरूको सक्रिय सहकार्यको आह्वान गरेको छ। विद्युत् प्राधिकरणले २३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजना अघि बढाएपछि महानगरले बिजुलीसँगै टेलिफोन र इन्टरनेट सेवा एकीकृत रूपमा भूमिगत गर्न सम्भावना खोज्दै छलफल अघि बढाएको छ।
नगरप्रमुख धनराज आचार्यले अव्यवस्थित र अनावश्यक तार तत्काल हटाउन निर्देशन दिँदै एक महिनाभित्र काम सम्पन्न गर्न आग्रह गरेका छन्। तोकिएको समयभित्र नहटाए महानगरले आफैँ हटाउने चेतावनीसमेत दिएका छन्।
हाल पोखराको मुख्य सहरी क्षेत्र—अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै लेकसाइड, हल्लनचोक, बुलौदी र जिरो किलोमिटर क्षेत्रसम्म भूमिगत लाइन बिछ्याउने काम तीव्र रूपमा भइरहेको प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सकिएको छ र आगामी जुलाईभित्र पूरा गर्ने लक्ष्य छ।
तार भूमिगत भएपछि अव्यवस्थित पोल र तारको समस्या हट्ने र सहरी सौन्दर्यमा सकारात्मक प्रभाव पर्ने विश्वास राखिएको छ।