सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय विजय साहको परिवारमा बुधवार मध्यरात घटेको दुःखद घटनापछि शोक र आक्रोशको वातावरण छ । भारतीय सीमा नजिक बसोबास गर्दै आएका साह सिटी सफारी चालक थिए र दैनिक उपभोग्य सामग्री भारतबाट ल्याएर स्थानीय बजारमा बिक्री गर्दै परिवार पाल्दै आएका थिए।
बुधवार राति करिब सवा १ बजे सामान लिएर फर्किँदै गर्दा कोशी गाउँपालिका–१ को पुरी टोलमा सशस्त्र प्रहरीसँग उनको जम्काभेट भयो । स्थानीयका अनुसार प्रहरीसँग ‘लेनदेन’ सम्बन्धी विवाद चर्किएपछि प्रहरीले चलाएको गोली साहको छातीमा लाग्यो र उनको घटनास्थलमै ज्यान गयो। स्थानीयले सशस्त्रले पहिलेभन्दा बढी रकम माग्दा विवाद भड्किएको दाबी गरेका छन्।
तर सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्कर समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन्। यद्यपि घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानमा दोहोरो फायरिङको स्पष्ट आधार नदेखिएको प्रहरी स्रोतको दाबी छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउन्ड गोली फेला परेको जानकारी दिए।
घटनापछि बिहीबार बिहानदेखि नै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरे र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (BOP) मा समेत आक्रमण गरे। परिस्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासन र पीडित पक्षबीच पाँच बुँदे सहमति गर्दै छानबिन समिति गठन गरिएको छ। सहमतिअनुसार समितिको प्रतिवेदनपछि मृतक परिवारलाई राहत उपलब्ध गराइनेछ। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
वडाध्यक्ष सोभितनारायण यादवका अनुसार साह विपन्न परिवारका व्यक्ति थिए र सिटी सफारी चलाएर परिवार पाल्दै आएका थिए। उनका पत्नी, आमा, दुई छोरा र एक छोरी छन्। “उनी तस्करीमा संलग्न थिए भन्ने तथ्य पुष्टि भएको छैन,” यादवको भनाइ छ। प्रहरी स्रोतले भने साह ‘पोके व्यापारी’ रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा यस प्रकारको सानो व्यापार सामान्यजस्तो हुने तर गोली हान्ने अवस्था कसरी सिर्जना भयो भन्ने अन्योल रहेको बताएको छ।
छानबिन समितिको निष्कर्षले घटना ‘लेनदेन विवाद’ का कारण भएको कि वास्तविक सुरक्षा कारबाहीअन्तर्गत भएको भन्ने स्पष्ट गर्ने अपेक्षा स्थानीयको छ। यसबीच साहको परिवार भने आर्जनको आधार गुमाउँदै गहिरो शोकमा डुबेको छ।