काठमाडौं।
विश्वभर करिब ८५ करोड मानिस मृगौला रोगबाट प्रभावित रहेका छन् भने नेपालमा मात्रै हरेक वर्ष झण्डै तीन हजार नयाँ बिरामी थपिने गरेका छन्। यद्यपि, यकिन तथ्यांक अझै पूर्णरूपमा सार्वजनिक हुन बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताएका छन्।
उनका अनुसार शरीरबाट विषाक्त पदार्थ हटाउने काम मात्र नभई मृगौलाले नुनको मात्रा सन्तुलन, ब्लडप्रेसर नियन्त्रण, हेमोग्लोबिन र भिटामिन–डीको स्तर कायम राख्ने महत्वपूर्ण भूमिका खेल्छ। “मृगौलाको काम केवल रगत फिल्टर गर्नु मात्र होइन, शरीरको ब्लडप्रेसर र एन्डोक्राइन फन्क्सन पनि नियन्त्रण गर्नु हो,” उनले भने।
डा. बज्राचार्यले मधुमेह र उच्च रक्तचापलाई किड्नी रोगका प्रमुख कारक भन्दै यी रोग भएका व्यक्तिमा चाँडै जटिलता देखिने बताए। “प्रेसर बढी हुनु वा मधुमेहका बिरामीमा प्रोटिन लिक हुन थाल्नु किड्नीको क्षमतामै असर गर्छ,” उनले स्पष्ट पारे। त्यस्तै, ग्लोमेरोनेफ्राइटिस, बारम्बारको युरिन इन्फेक्सन, पथरी, औषधिको अनियन्त्रित प्रयोग, पोलिसिस्टिक किड्नी डिजिज र जन्मजात समस्या पनि मृगौलामा प्रतिकूल असर पार्ने उनले बताए।
लक्षण ढिलो देखिने, जोखिम उच्च
प्रारम्भिक चरणमै मृगौला रोगका लक्षण प्रष्ट नदेखिने भएकाले धेरै बिरामी ढिला मात्र अस्पताल पुग्ने गरेको उनको भनाइ छ। सुरुमा लक्षण नदेखिए पनि पछि हातगोडा सुन्निनु, अनुहार फुल्नु, थकान, वाकवाकी, खाना अरुचि हुने जस्ता समस्या देखिने उनले बताए। “रोग अन्तिम चरणमा पुग्दा मात्र धेरैलाई थाहा हुन्छ, त्यतिबेलासम्म स्थिति जटिल भइसकेको हुन्छ,” उनले भने।
उनका अनुसार पर्याप्त पानी पिउने, सन्तुलित आहार, फलफूलको सेवन, धुम्रपान तथा मदिरा सेवन त्याग्ने र मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ।
डायलाइसिस र प्रत्यारोपणको अवस्था
क्रोनिक किड्नी डिजिज अन्तिम चरणमा पुगेपछि डायलाइसिस वा मृगौला प्रत्यारोपण अपरिहार्य हुने उनले बताए। किड्नीले ९० प्रतिशतभन्दा बढी काम गर्न नसक्ने अवस्थाको बिरामीलाई हप्तामा दुईदेखि तीन पटकसम्म नियमित डायलाइसिस आवश्यक पर्ने उनले जानकारी दिए। नेपालमा डायलाइसिस केन्द्रहरू बढ्दै गइरहे पनि सेवा अझै पर्याप्त नहुँदा धेरै बिरामीले कठिनाइ भोग्नुपरेको उनको भनाइ छ। सरकारले निःशुल्क डायलाइसिस कार्यक्रम सञ्चालन गरे पनि सबैलाई पहुँच पुग्न नसकेको उनले उल्लेख गरे।
नेपालमा हाल ‘लिभिङ रिलेटेड डोनर’ प्रणालीअन्तर्गत नातेदार वा नजिकका आफन्तबाट मृगौला प्रत्यारोपण गरिने व्यवस्था रहेको उनले बताए।
नियमित जाँच नै सुरक्षित उपाय
डा. बज्राचार्यले सामान्य व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक किड्नी परीक्षण गराउनुपर्ने सुझाए। “मृगौला रोग लक्षण लिएर आउने रोग होइन, जब समस्या गम्भीर हुन्छ तबमात्र धेरैले थाहा पाउँछन्। त्यसैले समयमै स्क्रिनिङ आवश्यक छ,” उनले भने। प्रारम्भिक चरणमै रोग पहिचान भए उपचार सम्भव हुने बताउँदै उनले विशेषगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले अझ सतर्क रहन आग्रह गरे।
उनका अनुसार सचेतना, रोकथाम र नियमित परीक्षण नै दीर्घकालीन मृगौला स्वास्थ्य जोगाउने मुख्य उपाय हुन्।