मिर्गौलामा समस्या देखिँदा बागलुङ नगरपालिका–१ की मनिषा बोसेल १७ वर्षकी थिइन्। कक्षा १२ मा अध्ययनरत रहँदा औषधिले निको हुन्छ भनिएको रोग समयसँगै बल्झिँदै गयो र अन्ततः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ।
सात वर्षदेखि औषधि सेवन गर्दै आएकी मनिषा पछिल्ला चार वर्षदेखि डायलायसिस गराइरहेकी छन्। सामान्य आर्थिक अवस्था भएको परिवार उपचार खर्च धान्दै जाँदा यतिबेला विपन्न अवस्थामा पुगेको छ। स्वास्थ्य समस्याकै बीचमा स्नातक तहमा भर्ना भएकी मनिषा रोगसँग लड्दै पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेकी छन्। जीवन जोगाउने र शिक्षा निरन्तरता दिने दुवै चुनौती उनका लागि कठिन बन्दै गएका छन्।
चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएपछि आमा मीना बोसेल मिर्गौला दिन तयार भए पनि आवश्यक जाँच, प्रत्यारोपण र त्यसपछिको उपचारका लागि परिवारसँग आर्थिक स्रोत छैन। त्यसैले मिडियामार्फत सहयोग संकलन गरेर उपचार सम्भव हुने आशामा बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरी सहयोगको अपिल गरेको छ।
मनिषा मात्रै होइन, धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको अवस्था पनि उस्तै छ। चार वर्षदेखि मिर्गौला रोगबाट पीडित कमल परिवारको जिम्मेवारी बोकेरै उपचारमा जुटिरहेका छन्। चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिए पनि आर्थिक अभावका कारण आवश्यक जाँचसमेत अघि बढाउन नसकिएको उनले बताए।
धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गराइरहेका कमललाई सरकारले उपलब्ध गराउँदै आएको मासिक पाँच हजार रुपैयाँ सहयोग पर्याप्त नभएको उनको भनाइ छ। चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपण प्रक्रियाका लागि न्यूनतम २० लाख रुपैयाँ खर्च लाग्ने भए पनि कमलसँग अस्पताल आउजाउको भाडासमेत छैन।
धौलागिरि अस्पताल बागलुङमा हाल ७० जनाले नियमित डायलायसिस गराइरहेका छन् भने केही अझै पालोको पर्खाइमा छन्। सरकारले डायलायसिस सेवा निःशुल्क र मासिक पाँच हजार रुपैयाँ सहयोग दिँदै आए पनि प्रत्यारोपणका लागि त्यो रकम अपर्याप्त हुँदा बिरामीहरू सहयोगको अपिल गर्न बाध्य भएको कमलले बताए।