टोकियो ।
एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन्। यद्यपि टोकियो र साङ्घाई सेयर बजार सार्वजनिक बिदाका कारण बन्द रहेकाले समग्र कारोबारको मात्रा भने कम देखिएको छ। लगानीकर्ता हाल संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट आउने नयाँ सङ्केतको प्रतीक्षामा छन्।
सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो। अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढेको थियो भने प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो। बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो।
एशियाली बजारतर्फ दक्षिण कोरियाको सेयर बजार सन् २०२५ मा करिब ७५ प्रतिशतले उकालो लागेको थियो। हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्दा जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले उक्लिएको थियो।
विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै बजारमा वृद्धि निरन्तर रहने वा नहुने भन्ने प्रश्न प्रमुख बनेको छ। बजारको साझा धारणा अनुसार अमेरिकी अर्थतन्त्रको वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याजदर घट्ने अपेक्षाले सेयर बजारलाई थप समर्थन गर्ने अनुमान गरिएको छ।
शुक्रबार हङकङको सेयर बजार २.२ प्रतिशतले बढ्यो। चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिजले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ७० करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेपछि यसको सेयर ८० प्रतिशतले उकालो लागेको छ। यसले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो अझै बलियो रहेको देखाएको छ।
यसैगरी चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढेको छ।
ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजारहरू पनि उकालो लागेका छन्। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्दा सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले उकालो लागेको छ।
यसैबीच, नयाँ वर्षसँगै सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य पनि बढेको छ। सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ।
— एएफपी