टपिक: भेनेजुएलामा अमेरिकी हस्तक्षेप
अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार गठन नभएसम्म भेनेजुएलामा अमेरिकाकै नियन्त्रण रहने बताएका छन्।
शनिबार अमेरिकन सेना कराकाससहितका प्रमुख सहरहरूमा प्रवेश गरेको र त्यसपछि डेल्टा फोर्सले मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको बताइएको छ। ट्रम्पले ट्रुथ सोसलमार्फत मादुरो नियन्त्रणमा परेको तस्वीर सार्वजनिक गर्दै औपचारिक जानकारी दिएका थिए।
फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकार सम्मेलन गर्दै उनले भने,
“सुरक्षित र विवेकपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ।”
यसक्रममा अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरोविरुद्ध मुद्दा दर्ता हुने जनाएको छ। मादुरोमाथि ‘नार्को–आतंकवाद’ तथा लागुऔषध कारोबारमा संलग्नतासहित विभिन्न कानुनी आरोप लगाइने बताइएको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिकाको कारबाहीको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा आलोचना गरेका छन्।
रूसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यो कदम अन्तर्राष्ट्रिय कानुनविरुद्धको एकपक्षीय सैन्य हस्तक्षेप रहेको जनाइएको छ। कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको नियम विपरीत कुनै पनि आक्रमण अस्वीकार्य रहेको टिप्पणी गरेको छ।
भेनेजुएलाको प्रतिक्रिया
उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारसँग मादुरो दम्पतीको अवस्था सम्बन्धी आधिकारिक जानकारी नरहेको बताउँदै प्रमाण प्रस्तुत गर्न माग गरेकी छन्। रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले देशभर सैन्य सतर्कता घोषणा गर्दै विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
उनले जनतालाई एकजुट हुन अपिल गर्दै भने,
“हामीमाथि ठूलो आक्रमण भएको छ, तर हामी झुक्ने छैनौँ।”
आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको सरकारले जनाएको छ।