काठमाडौं:
पुस महिना सुरु भएसँगै देशभर तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको दोस्रो र तेस्रो सातामा तापक्रममा गिरावट आएको छ। काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ।
शनिबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ, जुन यस वर्षकै सबैभन्दा कम रेकर्ड हो। यसअघि पुस ८ गते ४.९ डिग्री, पुस १५ गते ४.८ डिग्री, र पुस १७ गते ४.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो।
देशका विभिन्न जिल्लामा न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री रेकर्ड भएको छ, जहाँ खोलासमेत जमिरहेका छन्। अन्य जिल्लामा तापक्रम यस प्रकार छ: डडेलधुरा २.७, दिपायल ३, वीरेन्द्रनगर ५, घोराही ८, पोखरा ८.५, सिमरा ८.३, ओखलढुङ्गा ४.९, जिरी ०.२, ताप्लेजुङ ५.८, लुम्ले ४.५, धनकुटा ७ डिग्री।
तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको छ भने हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ। मौसम विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने तराई भू–भागमा हुस्सु/कुहिरो रहने देखिएको छ। यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन र सडक यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।