काठमाडौँ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। पुस १३ गते बसेको पार्टी सचिवालय बैठकले मातहतका कमिटीलाई उम्मेदवार सिफारिस गर्न दिएको निर्देशनअनुसार क्षेत्रीय कमिटीमार्फत उम्मेदवार सिफारिस भइरहेको एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरू जिल्ला र प्रदेश कमिटीको रायसहित पुस २४ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ। हालसम्म विभिन्न जिल्लाबाट शीर्ष नेतासहित दर्जनौँ नेताहरू उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस भएका छन्। झापा–५ को क्षेत्रीय समन्वय कमिटीको बैठकले सर्वसम्मत रूपमा ओलीको नाम अघि सारेको एमाले झापाले जनाएको छ।
त्यस्तै उपाध्यक्ष विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल २०६४ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ बाट सिफारिस भएका छन् भने गुल्मी–१ बाट नेता प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ। गुल्मी–२ बाट नेतृ रामकुमारी झाँक्रीको नाम पनि सिफारिस सूचीमा परेको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरिएको छ। यसमा जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारी पनि छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस गरेको छ। आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए। सो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो।
उपमहासचिव योगेश भट्टराई ताप्लेजुङबाट सिफारिस भएका छन्। ताप्लेजुङ एमालेले पाँच जनाको नाम सिफारिस गरेको जनाएको छ। यस्तै उपमहासचिव रघुवीर महासेठ धनुषाबाट र लेखराज भट्ट कैलालीबाट उम्मेदवार बन्ने तयारीमा छन्।
एमाले सचिवहरू महेश बस्नेत भक्तपुर, छविलाल विश्वकर्मा रुपन्देही, यमलाल कँडेल सुर्खेत, भानुभक्त ढकाल सुनसरी, राजन भट्टराई काठमाडौं–४, शेरधन राई भोजपुर र खगराज अधिकारी कास्कीबाट निर्वाचन लड्ने तयारीमा छन्। उपमहासचिव पद्मा अर्याल भने समानुपातिक सूचीमा सिफारिस भइसकेकी छन्।
एमालेले संगठनात्मक तयारीसँगै उम्मेदवार छनोट प्रक्रिया समयमै टुंग्याउने रणनीतिअनुसार काम अघि बढाइरहेको जनाएको छ।