काठमाडौँ
ज्योति विकास बैंकले कोशी प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको जीवन रक्षा गर्न उपयोगी ‘बेबी वार्मर’ मेसिन उपलब्ध गराएको छ। ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्व सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बैंकले आफ्नो शाखा नभएका स्थानसम्म समेत पुगेर जीवनरक्षक चिकित्सा उपकरण वितरण गरिरहेको छ। बैंकले यसअघिसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको जनाएको छ।
यस पटक सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला स्वास्थ्य चौकी र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको छ। त्यस्तै, खोटाङको जालपा–१२ स्थित पुजनसेवा नगर अस्पताल तथा पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन स्वास्थ्य चौकीमा पनि मेसिन स्थापना गरिएको हो।
उपकरण हस्तान्तरण कार्यक्रमका क्रममा सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधि, स्थानीय सरोकारवाला र समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा चिकित्सक र नर्सहरूलाई विशेषज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यसअघि प्रदान गरिएका ६६ वटा बेबी वार्मरमार्फत मात्र हरेक वर्ष करिब २,४४२ भन्दा बढी नवजात शिशुले प्रत्यक्ष सेवा प्राप्त गर्दै आएका छन्। हालसम्म करिब १२,२१० भन्दा बढी शिशु बेबी वार्मरको सुविधाबाट लाभान्वित भएको संस्थाको दाबी छ। जीवनरक्षक स्वास्थ्य क्षेत्रमा काम गर्ने बैंक तथा वित्तीय संस्थामध्ये ज्योति विकास बैंक अग्रसर रहेको उल्लेख गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत खुद मुनाफाको ठूलो हिस्सा समाजकल्याणमा विनियोजन गर्दै आएको बैंकले गत आर्थिक वर्षमा मात्रै करिब ४१ करोड रुपैयाँ कर तिर्ने योगदान गरेको जनाएको छ। हाल बैंकका ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान भइरहेको छ।