तनहुँ
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा २ लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तीमध्ये महिला मतदाता पुरुषभन्दा बढी रहेका छन्। कुल मतदातामध्ये पुरुष एक लाख २३ हजार ४९१ र महिला एक लाख ३० हजार ९०६ जना दर्ता भएको जानकारी कार्यालयले दिएको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँको १० स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा छन्। दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन्।
क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्। यस्तै, क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्छन्।
व्यास नगरपालिकामा ५१ हजार ३०६, भानुमा ४२ हजार १०४, शुक्लागण्डकीमा ४० हजार ३०५, भीमाद नगरपालिकामा २५ हजार ३११ मतदाता रहेका छन्। त्यस्तै, आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाटमा १२ हजार ६४४, बन्दीपुरमा १६ हजार २, ऋषिङमा १८ हजार ७४४, घिरिङमा १४ हजार ६१३ र म्याग्दे गाउँपालिकामा १९ हजार ३०६ मतदाता दर्ता भएका छन्।
जिल्लाभर ३०९ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ। विशेषरूपमा ऋषिङ गाउँपालिका–४ र ६ मा पहिलेदेखि एक/एक मतदान केन्द्र रहेकोमा थप एक/एक केन्द्र थपिएको छ। हालै सञ्चालन गरिएको मतदाता नामावली दर्ता अभियानमार्फत ७ हजार ३९३ नयाँ मतदाता सूचीकृत भएको कार्यालयले जनाएको छ।
निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन अधिकारी लम्सालले शान्त, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार तथा व्यवस्थापन मिलाइँदै गएको जानकारी दिए।