खोटाङ
खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित ऐतिहासिक तथा धार्मिक धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ। गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागितामा गुफा वरपर सफाइ गरिएको हो।
लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको गुफा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहे पनि पूर्वाधार अभावले पर्याप्त ध्यान नपाएको स्थानीयको भनाइ छ। सरसफाइ अभियानपछि स्थानीय तहले यस क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाले आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने योजना अघि सारेको छ। गुफाको भित्री पाखामा देखिने नागका आकृति, देवी–देवताका संरचना र प्राकृतिक ढुंगाका बनावटले यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीय बताउँछन्। उनीहरूको अनुमानमा गुफा दायाँ–बायाँ सयौँ मिटरसम्म फैलिएको छ।
किम्बदन्तीअनुसार परापूर्वकालमा भगवान् शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा शरण लिएर बसेको र पछि हलेसीस्थित त्रिधार्मिकस्थलतर्फ सरेको विश्वास छ। रामनवमी, बालाचतुर्दशी, तीज र एकादशी जस्ता महत्वपूर्ण धार्मिक पर्वमा यहाँ ठूलो भिड लाग्ने गर्दछ।
गाउँपालिका प्रमुख रविप्रकाश राईले धार्मिक तथा पर्यटकीय स्थलको दीर्घकालीन विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए। गुफा क्षेत्रको समग्र सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि गाउँपालिकाले जानकारी दिएको छ।