२१ पुस, लन्डन ।
बेलायतको वर्क परमिट, स्पोन्सरसीप, असाइलम केस तथा जागिर मिलाइदिने नाममा नेपालीले नै नेपालीलाई ठग्ने घटना तीव्र रूपमा बढेका छन्। हालै त्यस्ता उजुरीको संख्या उल्लेख्य बढेपछि लन्डनस्थित नेपाली दूतावासले विशेष सचेतना अपिल जारी गरेको छ।
दूतावासका अनुसार ठगीका सिकार बन्नेमा विद्यार्थी मात्र होइन, बेलायतमै बस्दै आएका नेपाली तथा नेपालबाट यूके आउन इच्छुक मानिस पनि परेका छन्। लाखौँ रुपैयाँ गुमाउनुका साथै पीडित र परिवार मानसिक तनावमा परेको गुनासो दूतावासमा पुगेका छन्।
दूतावासले जारी गरेको सूचनामा धेरैजसो ठग स्वयं नेपाली मूलका भएको, परिचितमार्फत तेस्रो देशका व्यक्तिसँग सम्पर्क गराई रकम असुल गर्ने तथा आफूहरूको वास्तविक पहिचान लुकाउने प्रवृत्ति बढेको उल्लेख छ।
यी समूहले यूकेको कानूनी कारवाहीबाट जोगिन नेपालमै नगद उठाउने, यूकेमा बैंकबाट कारोबार नगर्ने, सम्पर्क नम्बर परिवर्तन गर्दै बेपत्ता हुने गरेको दूतावासले जनाएको छ।
दुवै देशमा यस्तो अपराध कानूनी रूपमा दण्डनीय हुने भन्दै दूतावासले समस्या परेमा नेपालका अनुसन्धान निकाय, यूके प्रहरी तथा ‘एक्सन फ्रड’ जस्ता आधिकारिक संस्थामा उजुरी दिन आग्रह गरेको छ।
सम्पर्क आवश्यक परे दूतावासको इमेल [email protected] र हेल्पलाइन +४४–७४०४९३९२७४ उपलब्ध गराइएको छ।
कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पछिल्ला दिनमा यस्ता उजुरी उल्लेख्य बढेको बताउँदै पर्याप्त जानकारीबिना कुनै पनि प्रस्तावमा विश्वास नगर्न आग्रह गरे। “आवश्यक परे कानूनविद्, सोलिसिटर वा दूतावासजस्ता आधिकारिक निकायसँग सल्लाह लिऔं,” उनले भने।
दूतावासले प्रमाणसहित उजुरी ल्याउने पीडितलाई सहजीकरण र कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि वैदेशिक रोजगार विभागले पनि यस्तै खालका ठगीबारे सचेत रहन आग्रह गरेको थियो।