काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’मा अगाडि बढाउने गरी काम भइरहेको बताएका छन्। आइतबार आइसिटी अवार्ड–२०२५का विजेताहरूसँग मन्त्रालयमा भएको छलफलमा उनले डिजिटल नेपालको नीतिगत सुधार र विकासका लागि तयारी भइरहेको जानकारी दिएका हुन्।
मन्त्री खरेलले भने, “डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ। यसको भविष्य भनेको सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति र संस्थाहरुमा निर्भर छ।”
उहाँले मन्त्रालयले सूचना प्रविधि क्षेत्रका संस्थासँग समन्वय गर्दै पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै, “सञ्चारमन्त्रालय सम्बन्धित मन्त्रालयहरूसँग जोडिनका लागि सम्पर्कको माध्यम बन्ने विश्वास दिलाउँछ।”
मन्त्री खरेलले यस क्षेत्रको विकासमा प्रमुख चुनौतीहरू बजेटको अभाव, नीतिगत उल्झन र कार्यान्वयनमा ढिलाइ भएको बताए। तर, सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित भइसकेको र डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको उनले जानकारी दिए।
अवार्ड विजेताहरूसँगको अन्तरक्रियामा मन्त्री खरेलले यस क्षेत्रप्रति राज्यको सम्मान प्रकट भएको बताए। उनले भने, “निजी क्षेत्रबाट कुनै संस्थाले अग्रसरतामा तपाईंहरूलाई सम्मान गरिएको छ भने सरकार पनि यसमा जोडिएको छ। यो सम्मान राज्यको सम्मान हो।”
सञ्चारमन्त्रीले नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधि क्षेत्रका विज्ञसँग सरकारसँग सहकार्य गरेर डिजिटल नेपाल निर्माणमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदान सम्भव भए पनि, आमसहमति नबन्ने कारण यसपटक त्यो सम्भव नभएको उनले बताए। उनले आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले योग्य नेतालाई संसदमा पठाउन सबैलाई आग्रह गरे।