काठमाडौँ
काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो दुई दिनमा काठमाडौँको न्यूनतम तापक्रम १ डिग्रीले घटेर ३.५ डिग्री सेल्सियसमा झरेको छ।
शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री रहेकामा आइतबार ४ डिग्री र सोमबार बिहान ९ बजे ३.५ डिग्रीमा झरेको हो। मौसमविद् विनु महर्जनका अनुसार यो तापक्रम यस वर्षकै न्यूनतम हो र जनवरी महिनाभर तापक्रम क्रमशः घट्दो क्रममा रहने सम्भावना छ।
पुस महिना सुरु भएयता नै देशभर चिसो बढ्दै गएको छ। पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड भएको थियो भने पुस १५ मा ४.८, पुस १७ मा ४.६ र पुस १९ मा ४.५ डिग्री पुगेको थियो।
विभागका अनुसार देशभर सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। पुस १९ मा जुम्लाको तापक्रम माइनस ४.९ डिग्री रहेको थियो।
अन्य स्थानमा पनि तापक्रम घटेको छ। दुई दिनको अभिलेखअनुसार डडेलधुरामा २.७ बाट २.१, दिपायलमा ६ बाट ४.४, वीरेन्द्रनगरमा ५ बाट ३.८, घोराहीमा ८ बाट ५.७, पोखरामा ८.५ बाट ७.९ र ओखलढुंगामा ४.९ बाट ४.३ डिग्रीमा झरेको छ। ताप्लेजुङ, सिमरा र धनकुटामा भने तापक्रम सामान्य रूपमा मात्र बढेको छ। देशभर अधिकतम तापक्रम २२ डिग्री सेल्सियसभन्दा तल नै रहेको विभागले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहरको प्रभाव कायमै रहेको छ। विभागका अनुसार धेरै स्थानमा दिउँसोपछि मौसम केही खुल्ने सम्भावना छ। हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ भने स्थान–स्थानमा खोलाहरू जम्न थालेका छन्।