भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई लागुऔषध र हतियार तस्करीलगायत गम्भीर अभियोगमा अमेरिकाले सोमबार राति न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराएको छ। सीएनएनका अनुसार पहिलो सुनुवाइका क्रममा मदुरोले आफ्नो गिरफ्तारीलाई गैरकानुनी भन्दै आफूलाई ‘अपहरण गरिएको’ दाबी गरे।
‘म अपराधी होइन। म सम्मानित व्यक्ति हुँ र अझै पनि मेरो देशको राष्ट्रपति हुँ,’ अदालतमा उनले भने। उनका वकिलहरूले समेत अमेरिकाको कदमलाई ‘सैन्य अपहरण’ भन्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको टिप्पणी गरे।
सोमबारको सुनुवाइमा मदुरोसँगै उनकी श्रीमती सेलिया फ्लोरेस पनि उपस्थित थिइन्। आफू भेनेजुएलाकी प्रथम महिला भएको र अमेरिकाले लगाएका सबै आरोप झूटो भएको उनको भनाइ थियो। अदालतमा देखिँदा उनको अनुहारमा चोट लागेका कारण पट्टी बाँधिएको थियो।
मदुरो दम्पतीमाथि आतंकवादी समूहसँग मिलेर अमेरिकामा कोकिन तस्करी गरेको, षड्यन्त्र र मेसिनगन राखेको अभियोग लगाइएको छ। आरोपपत्रमा उनका छोरा निकोलस मदुरो गुएरा, गृहमन्त्री डिओस्डाडो काबेलो र ‘ट्रेन डे अरागुआ’ गिरोहका नेता हेक्टर गुरेरो फ्लोरेसको नाम समेत समावेश छ। अमेरिकाले सो समूहलाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ।
सुनुवाइका क्रममा मदुरोको खुट्टामा साङ्ला बाँधिएको थियो र उनलाई हिरासतबाट हेलिकप्टरमार्फत अदालत पुर्याइएको थियो। अदालत बाहिर भने सयौँ मानिस दुई धारका प्रदर्शन गर्दै जुलुसमा उत्रिएका थिए– एक समूह अमेरिकाको कदमको विरोधमा र अर्को समूह मदुरोविरुद्ध नाराबाजी गर्दै।
मदुरोविरुद्ध अर्को सुनुवाइ आगामी मार्च १७ मा तोकिएको छ। रिपोर्टका अनुसार यही जनवरी ३ का दिन अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी मदुरो दम्पतीलाई अमेरिकामा ल्याइएको हो।