काठमाडौं
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवासँगै पार्टी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावतर्फ सक्रिय भएको छ।
जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका ओलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको भोलिपल्टै (सोमबार) स्थानहद फुकुवा भएको थियो। त्यसको दिनै मंगलबार एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन तयारीबारे निर्णय गरेको छ।
बैठकले चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार, समिति अध्यक्षमा ओली स्वयं रहेका छन्। कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
त्यस्तै, चुनावी कमान्डरको जिम्मेवारी उपाध्यक्ष ‘बादल’लाई दिइएको छ। उनका संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ। समितिको सचिवमा रिमाल रहेका छन् भने सदस्यमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र डा. भीष्म अधिकारी छन्।
प्रदेश स्तरमा जिम्मेवारी यस प्रकार बाँडिएको छ:
-
कोसी प्रदेश – सचिव शेरधन राई
-
मधेस प्रदेश – नेता लीलानाथ श्रेष्ठ
-
वाग्मती प्रदेश – सचिव महेश बस्नेत
-
राजधानी प्रदेश – भट्टराई
-
गण्डकी प्रदेश – सचिव खगराज अधिकारी
-
लुम्बिनी प्रदेश – सचिव पदमा अर्याल
-
कर्णाली प्रदेश – सचिव यामलाल कँडेल
-
सुदूरपश्चिम प्रदेश – नेता गणेश ठगुन्ना
-
संगठन समन्वय – सचिव भानुभक्त ढकाल
ओलीले सचिवालय बैठकमा चुनाव सार्ने सरकार र वैदेशिक शक्तिको प्रयास भएको दाबी गरेका छन्। उनले संसद् पुनर्स्थापनालाई अवरुद्ध गर्न न्यायाधीशहरूमाथि दबाब बढाइएको र देशको राष्ट्रिय अखण्डता चुनौतीपूर्ण स्थितिमा रहेको बताए।
त्यसैगरी, पार्टीले युवा परिचालनलाई सक्रिय गर्दै ‘नेसनल युथ भोलेन्टियर्स फोर्स’ गठन गरेर निर्वाचन तयारी आन्दोलनकै माध्यमबाट अघि बढाउने निर्णय गरेको छ।
एमाले सचिव शेरधन राईका अनुसार, पार्टी निर्वाचन आयोगको तालिकाअनुसार दल दर्तादेखि समानुपातिक उम्मेदवारको सूचीसमेत समयमै बुझाइसकेको छ। उनले भने, “संसद् पुनर्स्थापनाका लागि अडान निरन्तर रहँदै पनि, यदि सरकारले साँच्चै चुनाव गराउँछ भने एमाले भाग्दैन।”
राईले एमाले अन्य दलभन्दा अघि नै चुनावका लागि तयार भएको बताए। उनका अनुसार, “आजसम्म चुनावका लागि पूर्णतया तयार दल एमाले मात्रै हो। अरू दलहरू अझै तयार देखिएका छैनन्।”
एमालेको रणनीति चुनाव र आन्दोलनलाई संयोजन गर्ने छ। पार्टीले निर्वाचन आयोगले अघि सारेको कार्यतालिकाअनुसारको प्रक्रिया अपनाउँदै, आन्दोलन र चुनाव दुवैमा सक्रिय रहन योजना बनाएको छ।