वीरगञ्ज (पर्सा)
पर्साको वीरगञ्जमा केही दिनदेखि जारी विरोध प्रदर्शन अब रोकिएको छ। जिल्लाको प्रशासनिक कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लागू गरिएको ‘कर्फ्यु’ आज दिउँसो ३:३० बजेदेखि हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले भने, “यहाँका दुई समुदायबीच सहमति भएको र शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै गएको कारण कर्फ्यु हटाउने निर्णय गरिएको हो। अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ।”
बैठकले आगामी समयमा विरोध प्रदर्शन वा आन्दोलन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने, ज्ञापनपत्र पेश गरी मात्र कार्यक्रम सञ्चालन गर्न सकिने निर्णय गरेको छ। यसैगरी धार्मिक, सामाजिक वा सांस्कृतिक सद्भाव विरुद्धका गतिविधिहरू रोक्न र आवश्यक कानुनी कारबाहीका लागि स्थायी संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ।
प्रजिअ दाहालका अनुसार उक्त स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहनेछन्। अन्य धार्मिक समुदायका प्रतिनिधिहरू र जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू पनि आवश्यक अनुसार संयन्त्रमा रहने व्यवस्था गरिएको छ। साथै नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि सदस्य पनि संयन्त्रमा रहनेछन्।
बैठकले सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक वा सामाजिक सद्भावमा खलल नपुग्ने गरी काम गर्न अनुरोध गरेको छ। साथै सद्भाव बिथोल्न प्रयास गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ।
सर्वदलीय बैठकले सबै पक्षलाई आ–आफ्नो समुदायमा अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता जनाउन निर्देशन दिएको छ। यसै सन्दर्भमा बैठकले थप विरोध कार्यक्रम नगर्ने र विद्यमान परिस्थितिलाई सहज बनाउन सकरात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेको छ।