चितवन।
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ९ वटा गैँडा मृत, अधिकांश प्राकृतिक कारणले
पछिल्लो पटक पुस २२ गते कुमरोज सामुदायिक वनमा ३५ वर्षे भाले गैँडा मृत भेटिएको छ भने निकुञ्ज क्षेत्रमा टायल बिछ्याउने परीक्षण कार्य पनि सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता हालसम्म ९ वटा गैँडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार मरेका गैँडामध्ये ५ वटा भाले र ३ वटा पोथी रहेका छन् भने एउटाको लिङ्ग पहिचान हुन सकेको छैन । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको पुष्टि भएको छ भने बाँकी सबै प्राकृतिक कारणले मरेका हुन् ।
पछिल्लो पटक पुस २२ गते कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको सूचना अधिकारी मगरले जानकारी दिए । उक्त गैँडा एक आपसमा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेका उनले बताए । निकुञ्जमा प्रत्येक वर्ष प्राकृतिक कारण, विद्युतीय करेन्ट, एकापसमा जुध्ने, दलदलमा फस्ने लगायतका कारणले गैँडा मर्ने गरेको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।
यसैबीच नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडकमा टायल बिछ्याउने काम सुरु गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कत्तिको हुन्छ भन्ने परीक्षण गर्न काम सुरु गरिएको हो । नगरपालिकाको १० लाख रुपैयाँ लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको छ । सुरुवातमा परीक्षणस्वरुप कम क्षेत्रमा काम गरिएको र सफल भएमा अन्य क्षेत्रमा विस्तार गरिने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयबाट सहमति प्राप्त भएपछि टायल बिछ्याउने अनुमति दिइएको हो । प्रारम्भिक रूपमा ३४ मिटर क्षेत्रमा परीक्षणस्वरुप काम गर्न दिइएको र सफल भएमा देउरालीसम्म टायल बिछ्याउने सहमति भएको उनले जानकारी दिए ।
माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले हाल ३४ मिटर क्षेत्रमा टायल बिछ्याइने र बाँकी सडक स्तरोन्नति गरिने बताए । टायल बिछ्याउन आवश्यक संरचना निर्माणको काम सुरु भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति आवश्यक पर्ने भएकाले विकल्पका रूपमा टायल बिछ्याउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।