काठमाडौं (हाम्रो खेलकुद)।
टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा न्यु डायमण्डले विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
एकतर्फी देखिएको खेलमा न्यु डायमण्डले आर्मीलाई क्रमशः २५–१६, २५–१५ र २५–१७ को सेटमा हराउँदै प्रभावशाली जित दर्ता गर्यो।
आजै हुने दोस्रो खेलमा साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुँदैछ। लिगपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ भने पुछारमा रहने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस वर्ष पनि कन्साइन निरोलेक पेन्ट (केएनपी) मुख्य प्रायोजक रहेको छ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँसहित अन्य विशेष पुरस्कार प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्वल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस र स्थानीय निकायले सहयोग गरेका छन्। प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद युट्युब च्यानलमार्फत गरिनेछ।