काठमाडौं।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते भएको आगजनी घटनालाई योजनाबद्ध षड्यन्त्र भन्दै त्यसमा संलग्नहरूलाई “देशद्रोही” भनेका छन्।
बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले उक्त घटनालाई तत्कालीन भावनात्मक प्रतिक्रियाको परिणाम नभई लामो तयारीको नतिजा भएको दाबी गरे।
“भदौ २४ को घटना तत्कालको उपज होइन, आठ–दस वर्षदेखिको तयारी हो,” ओलीले भने, “देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, आन्दोलनकारी होइनन्।”
उनले जेनजी आन्दोलनकारीलाइ दोष नलगाउँदै, आन्दोलनमा घुसपैठ गरेर आगजनी तथा तोडफोड गराइएको दाबी गरे।
“जेनजीलाई मैले भनेको होइन। उनीहरूले जलाएका होइनन्,” ओलीले भने, “आत्मा बेचिएका तत्वले देश जलाएका हुन्।”
ओलीका अनुसार आगजनी सामान्य घटना नभई लक्षित योजनाअनुसार गरिएको थियो। “खोजीखोजी त्यही ठाउँ जलाइएको छ जहाँ खास मान्छेका फाइल थिए। यस्तो काम सामान्य मानिसले होइन, प्रशिक्षित समूहले गरेको हो,” उनले भने।
भदौ २४ को घटना बिर्सन नसकिने उल्लेख गर्दै ओलीले अब त्यसबाट अघि बढेर देश निर्माणमा ध्यान दिनुपर्ने बताए। त्यसको नेतृत्व एमालेले लिन तयार रहेको उनको दाबी छ।