काठमान्डौ ।
सामाजिक सुरक्षा कोषले अब आफ्नो योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्न लागेकाे छ । लाभग्राहीको पहिचान प्रमाणीकरण गर्न राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID प्रणाली) का विद्युतीय सेवाको प्रयोग गर्ने सहमति भएपछि कोषले यसअन्तर्गतका सेवा औपचारिकरूपमा सञ्चालन गर्ने भएको हो।
यसका लागि सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक कबिराज अधिकारी र विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरेले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार कोषले योगदानकर्ताको विवरण अद्यावधिक गर्ने, सामाजिक सुरक्षा नम्बर जारी गर्ने तथा सेवा प्रदान गर्नु अघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्न राष्ट्रिय परिचय प्रणालीका विद्युतीय सेवा प्रयोग गर्न सक्नेछ।
सम्झौतामा नागरिकको नाम, जन्ममिति, ठेगाना लगायत जनसांख्यिक विवरण प्रमाणीकरण गर्ने, आवश्यक तथ्यांक उपलब्ध गराउने तथा जैविक विवरण (biometric) मिलान गरी पहिचान एकीन गर्ने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणालीमा रहेका जैविक तथ्यांकसँग तुलना गरी नागरिकको पहिचान सुनिश्चित गरिने उल्लेख छ।
त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण संकलन प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्ने व्यवस्था पनि समझदारीमा समेटिएको छ। डेटा सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण प्रक्रिया र प्राविधिक सहयोगसम्बन्धी प्रावधानहरू समेत समावेश गरिएका छन्।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने र आपसी सहमतिमा आवश्यक परिमार्जन गर्न सकिने जनाइएको छ।