नवलपरासी।
करिब आठ वर्षको प्रतिक्षापछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण पूरा भएको छ। विसं २०७५ मा सुरु गरिएको उक्त परियोजना निर्माण कम्पनीको लापरबाही, म्याद थप र प्रशासनिक ढिलाइका कारण पटक–पटक रोकिँदै आएको थियो। अन्ततः लामो समयपछि पुल निर्माण सम्पन्न भएसँगै स्थानीयमा राहतको अनुभूति भएको छ।
एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालभित्र पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको भए पनि निर्धारित समयमै काम पूरा हुन सकेन। म्याद पुनः पुनः थप्दै जाँदा आठ वर्ष लागेर पुल निर्माण सम्पन्न भएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले जानकारी दिए।
कावासोती नगरपालिका–३ र ४ जोड्ने १४० मिटर लम्बाइको उक्त पुल करिब १० करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत सहज भएको लोहनीले बताए। उनका अनुसार विशेषगरी बर्खायामको बाढीका बेला खोलाबाट पार गर्नुपर्ने जोखिम र अन्य समयमा पनि खोलामै हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ।
“पुल नहुँदा निकै सास्ती थियो। बाढी आउँदा घुमेर बजार जानुपर्ने अवस्था रहन्थ्यो। अब ढिलै भए पनि पुल बनेपछि सहज भएको छ,” वडाअध्यक्ष लोहनीले भने।
सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण गरिएको यो पुलले कावासोती मात्र नभई हुप्सेकोट गाउँपालिकाका बासिन्दालाई समेत सदरमुकाम पुग्न सजिलो बनाएको छ। हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलका अनुसार अब लामो घुम्ती यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।
“अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने।
पुल सञ्चालनमा आएसँगै स्थानीय विकास, सहरी पहुँच, सेवा प्रवाह तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।