राजविराज ।
जनशक्ति अभाव, उपकरणको कमी र अव्यवस्थित व्यवस्थापनका कारण लामो समयदेखि आलोचना भोग्दै आएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मुहार फेरिने प्रयास सुरु भएको छ। नयाँ नेतृत्व आएपछि बन्द सेवाहरू पुनः संचालन गर्दै अस्पताल सुधारको प्रक्रिया अगाडि बढाइएको हो।
एचडियु र एनआईसियु पुनः सुचारु
लामो समयदेखि बन्द रहेका अस्पतालका दुई महत्वपूर्ण सेवा एचडियु (हाई डेपेन्डेन्सी युनिट) र एनआईसियु (नवजात शिशु सघन उपचार कक्ष) पुनः सञ्चालनमा आएका छन्। आवश्यक जनशक्ति अभावका कारण झण्डै एक वर्षदेखि एचडियु बन्द थियो भने सर्ट सर्किट समस्या, उपकरण अभाव र मेडिकल अफिसर नहुँदा तीन महिनादेखि ठप्प रहेको एनआईसियु सेवा पनि पुनः सुरु गरिएको छ।
डेन्टल ओपीजी तथा सिडिसिटी सेवा सञ्चालनको तयारी
अस्पतालले आगामी १०–१२ दिनभित्र पहिलो पटक डेन्टल ओपीजी र सिडिसिटी सेवा सुरु गर्ने तयारी गरेको छ। अस्पतालका नायब सुब्बा रेवन्त यादवका अनुसार यो सेवा हाल छिमेकी जिल्ला सिरहा र उदयपुरमा उपलब्ध नभएकाले उक्त क्षेत्रका बिरामीका लागि पनि सुविधा हुने बताइएको छ।
नयाँ मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वमा सुधारको अभियान
१७ दिन अघि मात्र कार्यभार सम्हालेका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्रले अस्पताल सुधारलाई प्राथमिकतामा राखी काम अघि बढाइएको बताए।
“लामो समयदेखि बन्द रहेका सेवा पुनः सुरु गरिसकेका छौँ। छिट्टै नयाँ प्रविधिसहित डेन्टल ओपीजी र सिडिसिटी सेवा पनि सञ्चालन गर्छौँ,” उनले भने।
उनका अनुसार चिकित्सक तथा कर्मचारीलाई समयमा हाजिरी, जिम्मेवारी बाँडफाँड र निगरानी मजबुत बनाइएको छ, जसको प्रभाव सेवामा देखिन थालेको उल्लेख गरे।
स्थानीयको अपेक्षा– सुधार प्रयासलाई सहयोग आवश्यक
राजनीतिक प्रभाव, कमजोरी र बेथितिका कारण पछिल्लो समय आलोचनाको केन्द्र बनेको अस्पताल सुधारतर्फ अघि बढ्न थालेको भन्दै स्थानीयवासीले नयाँ नेतृत्वको प्रयास प्रशंसनीय रहेको टिप्पणी गरेका छन्। उनीहरूले सुरु भएको सुधार अभियानलाई दीगो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखेका छन्।